परम्परागत नेतृत्व सुरक्षित गर्ने नाममा घर–परिवारका सदस्यलाई क्रियाशील सदस्यता दिइयो : प्रवक्ता महत

न्यूज समय


नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले क्रियाशील सदस्यता अभियानको कमजोर व्यवस्थापनप्रति असन्तुष्टि जनाउँदै क्रियाशील सदस्यता परम्परागत नेतृत्व सुरक्षित गर्ने नाममा घर–परिवारको सदस्य मात्र बढाइएको भन्दै आपती जनाए । पार्टीको केन्द्रीय समितिको बैठकमा बोल्दै डा. महतले यो प्रवृत्तिका कारण सहि कार्यकर्ता छुटेको पनि बताए । डा महतले पार्टीले महिला संगठनलाई गाउँस्तरमा सशक्त बनाएर नेतृत्व विकासको अभ्यास गर्न सुझाव दिए ।

“विदेश गएका युवाहरूको अनुपस्थितिमा गाउँघरमा महिला नै प्रमुख शक्ति हुन् । महिला संगठनमार्फत कांग्रेसको वास्तविक जनाधार निर्माण गर्न सकिन्छ,” उनले भने । गठबन्धन सरकारमा कांग्रेसको सहभागिता सन्दर्भमा उनले भने, “गठबन्धन सरकार हो, बस्दा पनि गारो, नबस्दा पनि गारो । तर सरकारमा बसेपछि त्यहाँ बसिराख्ने न्युनतम आधार तयार गर्न जरुरी छ।” उनले सरकारमा रहेका कांग्रेस मन्त्रीहरूको प्रदर्शन अरु दलका मन्त्रीभन्दा उत्कृष्ट देखिनु पर्ने र त्यसले जनतामा सन्देश दिनुपर्ने बताए । उनले पार्टीको सांगठनिक संरचना, कार्यशैली र आर्थिक अनुशासनमा व्यापक सुधार आवश्यक रहेको बताए ।

“सरकारको लगानी प्रभावकारी छैन, रोजगारी सिर्जना भइरहेको छैन । प्रदेश र केन्द्र दुवैतिर कुशासनको असर छ,” महतले जोड दिए । उनले भने – “ नेपाली कांग्रेसले नै हो मुलुकको आर्थिक रुपान्तरण गर्ने, युवाहरुलाई रोजगार बनाउने, यो कुरालाई ध्यानमा राखेर अघि बढ्न जरुरी छ ।” उनले पार्टी नेतृत्वलाई जनमत जोगाउन, संरचना सुधार गर्न, संगठनात्मक एकता कायम गर्न र जनताको असन्तुष्टिलाई सम्बोधन गर्न आग्रह गरे ।

महतले पार्टीको जनाधार खस्किँदै गएको प्रति गम्भीर ध्यान दिन जोड दिएका छन् । पार्टीको ऐतिहासिक परम्परा, धर्म, संस्कृति, सभ्यता र मूल विचारमा आधारित मतदाता वर्गलाई जोगाउन नसके आगामी २०८४ को निर्वाचनमा कांग्रेस कमजोर हुने बताएका छन् । उनले भने–‘हाम्रो पार्टी पुरानो हो, तर पुराना पार्टीहरूप्रति जनता निराश हुँदै छन् । नयाँ नाममा नयाँ पार्टीहरू बनिरहेका छन् । यस्तो अवस्थामा हाम्रो परम्परागत जनाधार खस्किँदै गएकोप्रति पार्टी गम्भीर हुन जरुरी छ ।’ उनले पार्टीले आफ्ना मूल मूल्य–मान्यता, विशेषगरी धार्मिक र सांस्कृतिक पहिचानलाई स्पष्ट र मजबुत रुपमा प्रस्तुत नगरे गम्भीर क्षति हुने बताए ।

उनले भने–‘धार्मिक स्वतन्त्रता कुनै पनि लोकतान्त्रिक समाजको आधारभूत अधिकार हो। धार्मिक स्वतन्त्रता हुनुपर्छ, सबै धर्ममा आस्था राख्नेलाई संरक्षण गर्नुपर्छ, पार्टीले आफ्नो यो वैचारिक धरातललाई इन्ट्याक्ट राख्नुपर्छ ।’ डा महतले हाल पार्टीभित्र सामाजिक सञ्जाल र सार्वजनिक बहसहरूमा नेताहरूबीच एकअर्कामाथि आक्रमण भइरहेको, कार्यकर्ताभित्र आत्मबल खस्कँदै गएको र आन्तरिक विवादले जनताको विश्वास घटेकोप्रति पनि चिन्ता व्यक्त गरे ।