नेपाली कांग्रेसका पूराना नेता गोविन्द शर्मा कंडेलको निधन

न्यूज समय

नेपाली कांग्रेसका पूराना नेता एवम् प्रतिनिधि सभाका पूर्व सदस्य गोविन्द प्रसाद शर्मा कंडेलको आइतबार बिहान निधन भएको छ । चितवनस्थित छोरीको घरबाट संसद दिवसमा सहभागि हुन र स्वास्थ्य परीक्षणका लागि काठमाडौंका लागि बस कुर्दै गर्दा निधन भएको परिवारले जनाएका छन् ।

२०४८ सालको प्रतिनिधिसभा निर्वाचनमा बागलुङ क्षेत्र नं. १ मा नेपाली कांग्रेसका तर्फबाट विजयी कंडेल प्रजातान्त्रिक आन्दोलनका अगुवा तथा सादगी र इमान्दार नेताका रुपमा परिचित छन् । बहुदलीय व्यवस्था प्राप्तिको आन्दोलनमा निरन्तर क्रियाशील कँडेल नेपाली कांग्रेस बागलुङका पूर्व सभापति हुन् । २०४६ सालको आन्दोलनका क्रममा जेल परेका कंडेल बहुदलपछि पार्टी सभापति र सांसद बनेका थिए ।

१९९५ साल पुस १० गते काठेखोला गाउँपालिका वडा नं. ६ बिहुँकोटमा जन्मेका शर्माको सव आइतवार नै जन्मस्थल बिहु ल्याउने र सोमबार अन्त्येष्टी गरिने परिवारले जनाएको छ । स्वर्गीय कंडेलकी धर्मपत्नी विष्णुदेवी कँडेलको २ वर्ष पहिला निधन भएको थियो । कँडेलका २ छोरा र एक छोरी रहेका छन् ।