तरुण दलको तदर्थ समिति भङ्ग गर्न माग गर्दै सानेपामा आमरण अनसन

न्यूज समय

तरुण दलको तदर्थ समिति भङ्ग गर्न माग गर्दै आमरण अनसन सुरू भएको छ । सानेपास्थित कांग्रेस मुख्यालयमा तरुण केन्द्रीय सदस्यहरू रोजन राई र अम्बिका बास्कोटाले आमरण अनसन थालेका हुन् ।

संगठनमा गुट उपगुट बनाई लम्जुङमा कार्यकर्तामाथि खुकुरी प्रहारजस्ता आपराधिक कार्य गरेको, भवन निर्माणको लागि विनियोजित बजेटबारे गलत प्रचार गरेर गणेशमान सिंह र सिंगो पार्टीलाई बदनाम र विवादित बनाएको, ५० भन्दा बढी जिल्लामा कार्यवाहकमाथि कार्यवाहको जिम्मेवारी दिइएकाले अध्यक्ष विद्धान गुरुङले महाधिवेशन गर्न सक्षम नरहेको भन्दै उनीहरूको तर्क छ ।

त्यस्तै २०७८ सालमै स्थानीय र आम चुनावको ३ महिनाभित्र महाधिवेशन गर्न निर्देशन दिएकोमा तदर्थ समितिले पटक(पटक म्याद थप्दा पनि ३–३ वर्षसम्म एउटा पनि जिल्लाको अधिवेशन गर्न नसकेको, पार्टीको केन्द्रीय समितिले २०८१ चैत मसान्तदेखि दलको कार्यकाल स्वतः समाप्त हुने निर्णय गरेको कारण तदर्थ समिति भङ्ग हुनुपर्ने जिकिर गरिएको छ ।

उनीहरुले तरुण दलको केन्द्रीय कार्यालय भवन केन्द्रीय समितिलाई थाहै नदिई निजी सम्पत्ति झै गरी आफूखुसी भत्काएर कार्यलयविहीन बनाएको आरोप समेत लगाएका छन् । कुनै पनि जिम्मेवारी पूरा गर्न नसक्ने संस्था वा व्यक्तिलाई पुरस्कार नभई दण्ड दिने परिपाटी बसाल्न उनीहरूले ध्यानाकर्षण गराएका छन् ।