नेपालमा पहिलो फ्रेन्च फ्राइज उद्योग सञ्चालनमा, झन्डै २ अर्ब रुपैयाँ लगानी

न्यूज समय


रुपन्देहीमा झन्डै २ अर्ब रुपैयाँ लगानीमा फ्रेन्च फ्राइज उद्योग सञ्चालनमा आएको छ । गुल्मीको मदाने गाउँपालिका–६ घर भई बुटवलमा बस्दै आएका व्यवसायी कृष्णप्रसाद पौडेलले फर्स्ट च्वाइस फुड्स प्रालिले नेपालमा पहिलो पटक उद्योग स्थापना गरी उत्पादन तथा बजारीकरण गर्न थालेका हुन् ।

यो फ्रेन्च फ्राइज उद्योग रुपन्देहीको शुद्धोधन गाउँपालिका–४ मा उद्योग सञ्चालनमा छ । काठमाण्डौमा भएको कार्यक्रममा उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उद्योगले उत्पादन गरेको फर्स्ट च्वाइस फुड सार्वजनिक गरे । ५ बिघा क्षेत्रफलमा फैलिएको यो उद्योगले आलुका परिकार उत्पादन गर्दै आएको छ । कम्पनीबाट ‘हिमालयन क्रिप्स’ र ‘हाम्रो फ्राइज’ बजारमा आएको र आलु उत्पादक १० हजार किसान उद्योगसँग जोडिएको उद्यमी पौडेलले जानकारी दिए ।

उनका अनुसार अहिले उद्योगले १९ जिल्लाका किसानसँग जोडिएर काम गरिरहेको छ । अहिले भारतमा समेत उद्योगले आफ्नो उत्पादन निर्यात गरेको उद्योगका सञ्चालक तथा अध्यक्ष पौडेलले बताए । आउँदा दिनमा यूएई, मलेशिया, साउदी अरेबियालगायतका तेस्रो देशमा निर्यात गर्ने कम्पनीको लक्ष्य रहेको उद्यमी पौडेलको भनाई छ । अर्थमन्त्री पौडेलले आलुको आयातलाई घटाउने र देशभित्रै उत्पादन बढाउने तथा रोजगारी सिर्जना गर्नुपर्नेमा जोड दिएका छन् ।