नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले माओवादीले अहिले प्रतिनिधिसभामा प्रतिपक्षको भूमिकामा भए पनि सत्ता पक्षको जस्तो भूमिका निर्वाह गर्नुपर्ने बाध्यतामा आइलागेको बताएका छन्। मंगलबार बिहान चितवनस्थित निजी निवासमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले यस्तो बाध्यता संविधान र ऐन कानुनका कारण आइपरेको बताए।
उनले आफूहरु अहिले प्रतिनिधिसभामा प्रतिपक्षको हिसाबले कमजोर भएको र यही कारण संविधानको निम्ति, ऐन कानुनको निम्ति, सिस्टमको निम्ति सत्तापक्षको जस्तो भूमिका खेल्नुपर्ने बाध्यता भएको स्पष्ट पारे ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै दुई साताभन्दा बढी समय संसद् अवरुद्ध पारेको माओवादी गएको शुक्रबार सत्तारुढ दलसँग दुई बुँदे सहमति गरेर पछि हट्यो । सहमति पनि बेअर्थको गरेको भन्दै पार्टीभित्र र बाहिर पनि आलोचना भइरहेको छ। दाहालले बजेट माथिको छलफलका लागि संसदको अवरोध हटाउनु परेको बताए।
न्यूज समय
३ असार, २०८२, मंगलबार ००:००