व्यक्तिको वैयक्तिक स्वतन्त्रताप्रति मिडिया पनि जिम्मेवार हुनुपर्छ : परराष्ट्र मन्त्री राणा

न्यूज समय

परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले लोकतन्त्र र प्रेस एक अर्काका परिपूरक भएकाले कुनै पनि व्यक्तिको वैयक्तिक स्वतन्त्रताप्रति मिडिया पनि जिम्मेवार हुनुपर्छ भन्ने आफ्नो धारणा रहेको बताएकी छन् । भ्रामक सामग्रीका सन्दर्भमा रिपब्लिक मिडियाकी प्रबन्ध निर्देशक शोभा ज्ञवालीसँग भएको टेलिफोन संवादको विषयलाई धम्की भनेर प्रचार गरिएकोमा आश्चर्य व्यक्त गर्दै राणाले मिडियाले जिम्मेवारीबोध र विश्वसनीयता गुमाउन नहुने बताइन् ।

उनले नेपालमा लोकतन्त्र, नागरिक अधिकार र प्रेस स्वतन्त्रताका लागि सबैभन्दा बढी संघर्ष गरेको नेपाली कांग्रेसको योगदानलाई कसैले बिर्सन नमिल्ने भन्दै आफू सोही पार्टीको एक जिम्मेवार सदस्य भएकाले मलाई प्रेस स्वतन्त्रताका बारेमा राम्ररी जानकार रहेको पनि स्पष्ट पारेकी छन् । मन्त्री राणाले प्रेस नोट जारी गर्दै व्यक्तिको वैयक्तिक स्वतन्त्रताप्रति मिडिया जिम्मेवारी हुनुपर्ने आफ्नो धारणालाई तोडमोड गरिएको भन्दै मिडिया पीडित मैत्री हुन्छ भन्ने आफ्नो बुझाइ रहेको बताएकी छन् ।

यस्तो छ, राणाको प्रेस नोट

नेपाल रिपब्लिक मिडियाकी निर्देशक शोभा ज्ञवालीसँग हिजो भएको टेलिफोन कुराकानीलाई धम्की दिएको भनी उनको पत्रिका नागरिक दैनिकमा समाचार प्रकाशित भएको देखेर आश्चर्य चकित भएकी छु ।

हाम्रो परिवारलाई बदनाम गराउने दूषित मनसाय सहित सामाजिक सञ्जालमा आएको एक तथ्यहीन र भ्रामक भिडियो र त्यसको न्यायिक निरूपणमा बारेमा उहाँसँग कुराकानी भएको हो ।

उक्त भ्रामक र तथ्यहीन भिडियो प्रसारण गर्ने संस्था कुनै पनि सरकारी निकायमा दर्ता समेत नभएको थाहा पाएपछि प्रेस काउन्सिल मार्फत प्रक्रिया सुरु गर्न नमिलेर हामीले राज्यको कानुन अनुसार नै न्याय खोजेका हौँ ।

उक्त भ्रामक भिडियो पोष्ट गर्ने विरुद्ध अदालतले पक्राउ पूर्जी जारी गरेको छ र कानुनले जे सजाय दिन्छ हामीले पनि त्यसैलाई अनुसरण गर्ने नै हो । यसै विषयमा मैले उहाँलाई जानकारी गराएको थिएँ ।

बरु मैले म आफू नियमित पाठक रहेको न्युयोर्क टाइम्सजस्तो मिडियाको सहयात्री प्रकाशनले पनि सोही भ्रामक भिडियोलाई स्रोत मानेर समाचार प्रकाशन गर्नुभन्दा सत्य तथ्य बुझेर मात्र समाचार प्रकाशन गर्नुपर्ने सुझाव दिएकी हुँ। तर हामीबीच भएको फोन संवादलाई तोडमोड गरेर उहाँले आफूलाई धम्की आएको भनेर आफ्नै पत्रिकामा समाचार प्रकाशन गरेको देख्दा मलाई अचम्म लागेको छ ।

नेपालमा लोकतन्त्र, नागरिक अधिकार र प्रेस स्वतन्त्रताका लागि सबैभन्दा बढी संघर्ष गरेको नेपाली कांग्रेसको योगदानलाई कसैले बिर्सन मिल्दैन। म सोही पार्टीको एक जिम्मेवार सदस्य भएकाले मलाई प्रेस स्वतन्त्रताका बारेमा राम्ररी थाहा छ ।

तर मिडियाको सबैभन्दा ठूलो पक्ष जिम्मेवारीबोध र विश्वसनीयता गुमाउनुहुँदैन भन्ने मेरो धारणा हो । लोकतन्त्र र प्रेस एक अर्काका परिपूरक भएकाले कुनै पनि व्यक्तिको वैयक्तिक स्वतन्त्रताप्रति मिडिया पनि जिम्मेवार हुनुपर्छ भन्ने मेरो धारणा हो । स्वभावैले मिडिया पीडितमैत्री हुन्छ भन्ने मेरो बुझाई हो। यसैका आधारमा राखिएका कतिपय धारणाहरुलाई प्रेसले धम्कीपूर्ण भाषाका रूपमा बुझ्नु दुःखद हो ।