नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर चिरञ्जीवी नेपालले मुलुकको समुचित विकास भएमा वैदेशिक रोजगार तथा आप्रवासको बढ्दो लहर स्वाभाविक रूपमा रोकिने बताएका छन् । बिहीवार काठमाडौंमा मिडिया इन्टरनेसनलको आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वगभर्नर नेपालले जनशक्तिको पलायनलाई केवल नियमनले मात्र रोक्न नसकिने बताए ।
उनले देशमा स्थायित्व, अवसर र विश्वसनीय वातावरण निर्माणको खाँचो रहेको बताए । सुन्दर जीवनको कल्पना गर्दै वर्षेनी लाखौं नेपालीहरु पलायन हुने गरेको उल्लेख गर्दै उनीहरुलाई स्वदेश फर्कने वातावरण सरकारले बनाउनुपर्ने उनको भनाई थियो ।
उनले शिक्षा आर्जन तथा कामको सिलसिलामा विदेश जाने तर नफर्कने क्रम बढेको उल्लेख गर्दै यसबारे सरकार गम्भीर बन्न जरुरी रहेको बताए । उनले अगामी आर्थिक वर्षको बजेट विगतको तुलनामा प्रगतिशील रहेको बताउँदै मुलुकको वर्तमान परिस्थितिको सामना गर्ने गरी बजेट आएको स्पष्ट पारे ।
न्यूज समय
२९ जेष्ठ, २०८२, बिहीबार ००:००