अनेरास्ववियुको नयाँ नेतृत्वका लागि मतदान आज, बालुवाटार र भंगालबीच भिडन्त

न्यूज समय

नेपाल कम्युनिष्ट पार्टी एमाले निकट विद्यार्थी सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियुको नयाँ नेतृत्वका लागि आज निर्वाचन हुने भएको छ । बिहान ८ देखि अपराह्न ४ बजेसम्म निर्वाचन हुने कार्यतालिका रहेको महाधिवेशन अध्यक्ष मण्डलका सदस्य माधव ढुङ्गेलले जानकारी दिए । मतदान विद्युतीय मेसिनबाट हुनेछ । उनका अनुसार बुधबार उम्मेदवारको अन्तिम नामावली सार्वजनिक र विद्युतीय मेसिनलाई उम्मेदवारीका नाम राख्ने काम सम्पन्न भइसकेको छ ।

२४औँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्वका लागि प्रकाश पौडेल र डा सुजन कडरियाले उम्मेदवारी दिएका छन् । एकजना खुला उपाध्यक्षमा विकास श्रेष्ठ, राजकुमार ढकाल, भरतसिंह धामी, धर्मेन्द्र केसी, गणेशबहादुर शाहीले उम्मेदवारी दिएका छन् । यसैगरी, एक महिला उपाध्यक्षमा सुजिता धिताल, अञ्जना सिवाकोटी, भवानी बजगाईं र आरती भट्टराईले उम्मेदवारी दिएका छन् । महासचिवमा आरके रोमश, दीपक धामी र सुनिल कँडेलले उम्मेदवारी दिएका छन् ।

अनेरास्ववियुका निवर्तमान अध्यक्ष समिक बडालले छिटोछरितो बनाउने र कागजको मतपत्रको झन्झट हटाउनका लागि विद्युतीय मेसिनबाट मतदान गर्न लागिएको जानकारी दिए । राम–लक्ष्मण इनोभेसनका सञ्चालक लक्ष्मण रिमालले निर्वाचनमा ४३ वटा मेसिन प्रयोग गरिने जानकारी दिए । महाधिवेशनमा करिब एक हजार ५४३ जना प्रतिनिधिले मतदान गर्नेछन् । हाल विभिन्न पदमा ५१९ जना उम्मेदवार भएकाले एक जनालाई कम्तीमा १५ देखि २० मिनेट मतदान गर्न समय लाग्ने जनाइएको छ । अनेरास्ववियुमा पहिलोपटक ३२ वर्ष उमेर हदअनुसार निर्वाचन हुँदैछ । महाधिवेशन यही जेठ २५ देखि सुरु भएको हो ।

मङ्गलबार बेलुका ६ बजेपछि उम्मेदवारी दर्ता सुरु भएको थियो । निर्वाचन कार्यतालिका अनुसार बुधबार मध्याह्न पछि निर्वाचन हुने कार्यतालिका थियो । तर पार्टीको हाइकमाण्डले चार पदाधिकारी सर्वसम्मत गराउने र सकेसम्म गलाउने नीति लिएको थियो । तर अध्यक्षका प्रत्यासी प्रकाश पौडेलले अडान नछोडेपछि बिहीबार निर्वाचन तय भएको हो । अहिलेको निर्वाचन बालुवाटार विरुद्ध भंगाल देखिएको छ । अर्थात एमाले पार्टी अध्यक्ष केपी ओली र पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी ।