विधानले नचिनेको पदाधिकारी बैठकले समग्र पार्टीलाई चलाउन खोज्नु गलत : नेता महर

न्यूज समय

नेपाली कांग्रेसका प्रभावशाली केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले सत्ता सञ्चालन र पार्टीको आन्तरिक व्यवस्थापनमा शीर्ष नेतृत्वले अपनाएको कार्यशैलीप्रति असंतुष्टी जनाएका छन् । नेपाल प्रेस युनियन, कैलालीले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता महरले वर्तमान सत्ता गठबन्धनद्वारा बनाइएको उच्चस्तरीय राजनीतिक संयन्त्र र पार्टीभित्र पदाधिकारी बैठकका नाममा भइरहेका निर्णय प्रक्रिया गतल भएको भन्दै असंतुष्टी जनाए ।

उनले भने– ‘संविधानले नचिनेको संयन्त्रले सरकारलाई निर्देशित गर्ने र विधानले नचिनेको सीमित पदाधिकारी बैठकले समग्र पार्टीलाई चलाउन खोज्ने प्रवृत्ति हाबी भएको छ । यस्तो अभ्यासले देशमा विधिको शासन र पार्टीमा आन्तरिक लोकतन्त्र दुवैलाई ठाडो चुनौती दिएको छ। यो गलत छ र यसलाई रोक्नुपर्छ।’

महरले विगत १० महिनादेखि केन्द्रीय कार्यसमितिको बैठक बस्न नसकेको प्रसङ्गमा उनले भने, ‘पार्टीको सर्वोच्च निकाय केन्द्रीय समितिलाई निष्क्रिय बनाएर केही सीमित शीर्ष पदाधिकारीको तजबिजमा पार्टी चलाउन खोजिएको भन्दै असंतुष्टी जनाए ।

नेताको चरित्र र आचरणको प्रतिबिम्ब देशको शासन प्रणालीमा देखिने भन्दै उनले सुशासनका लागि नेताहरू स्वयं नैतिकवान् हुनुपर्ने र पार्टी आदर्शवादी हुनु पर्नेमा जोड दिए । संविधान कार्यान्वयन र जनमुखी कानुन निर्माणमा सांसदहरूको भूमिका कमजोर देखिएकोतर्फ संकेत गर्दै उनले सांसदहरूलाई थप जिम्मेवार र जवाफदेही बन्न आग्रह गरे।