टेलिकमको बिलिङ ठेक्का भ्रष्टचारमा प्रवन्ध निर्देशक पहाडीसहित १८ लाई मुद्दा, अनुसन्धानमा तानिएका वैकुण्ठ अर्यालसहित २३ लाई चलाइएन मुद्दा

न्यूज समय

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमका प्रबन्ध निर्देशक संगीता पहाडीसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । पहाडिसहित पूर्व प्रबन्ध निर्देशक सुनिल पौडेल, प्राविधिक प्रमुख प्रतिभा श्रेष्ठलाई समेत प्रतिवादी बनाएर आइतबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको हो ।

विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीका अनुसार नेपाल टेलिकमको बिलिङ प्रणालीको मर्मत सम्भारसम्बन्धी ठेक्का लम्ब्याउने क्रममा भ्रष्टाचार भएको दाबी गर्दै आयोगले मुद्दा दायर गरेको हो । उनीहरूविरुद्ध ३३ करोड ४८ लाख १७ हजार ४३० रूपैयाँ बिगो कायम गरिएको छ । यसैगरी, राजेन्द्र श्रेष्ठ, धविन्द्रलाल उपाध्याय, देवेन्द्र खतिवडा, बिनिता श्रेष्ठ, अमूल प्रधान, राजीवकुमार केसी, हेमप्रभा रामप्रताप कर्ण, नवल चौधरी, मुक्ति प्रसाद अर्याल, शंकरकुमार श्रेष्ठ, परमात्मा भट्टराई, शैलेस श्रेष्ठलाई पनि प्रतिवादी बनाइएको छ । त्यस्तै, एक चिनियाँ कम्पनी, कम्पनीका सिनियर डाइरेक्टर लङ योङ, म्यानेजर हुवाङ ओईलाई पनि प्रतिवादी कायम गरेर मुद्दा चलाइएको छ ।

१८ जनाविरुद्ध मुद्दा दायर गर्दा अख्तियारले यस प्रकरणमा अनुसन्धानमा तानिएका २३ जनालाई भने मुद्दा नचल्ने निर्णय गरेको छ। तत्कालीन तत्कालीन सञ्चालक समितका अध्यक्ष हरिप्रसाद बस्याल, डा।वैकुण्ठ अर्याल, सदस्यहरू सहसचिव भूपाल बराल, उत्तरकुमार खत्री, शङ्कर लामिछाने, कम्पनी सचिव राजेन्द्र अर्याल, तत्कालीन प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी र तत्कालीन प्राविधिक अधिकृत भानुराज श्रेष्ठविरुद्ध मुद्दा दायर नगरिएको हो ।

यसैगरी तत्कालीन निर्देशक राधाकृष्ण ढुङ्गेल, तत्कालीन नायव प्रबन्ध निर्देशक मिनु प्रधान, तत्कालीन निर्देशक सविना मास्के, तत्कालीन प्रबन्धक हरि ढकाल, गंगासागर मातंछे, कुमारप्रसाद खतिवडा, प्रकाश मानन्धर, सुबोध रिमाल, शोभन अधिकारी, अनुप रेग्मी, तत्कालीन उपप्रबन्धक मणिराज पौडेल, सुदिपराज घिमिरे र सरोज प्रधान, सन्तोष भण्डारी मुद्दा नचल्ने निर्णय गरिएको हो । यस्तै तत्कालीन वरिष्ठ इन्जिनियर प्रयाग खड्कालाई पनि मुद्दा नचलाउने निर्णय अख्तियारले गरेको छ ।