पूर्वप्रधानमन्त्री नेपालविरुद्ध भ्रष्टाचार मुद्दा,१८ करोड ५८ लाख रुपैयाँ बिगो दाबी

नेपालको सांसद पद निलम्बनमा

न्यूज समय

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री एवम् नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले पतञ्जली जग्गा सट्टापट्टा प्रकरणमा अनियमितता गरेको आरोपमा विशेष अदालतमा मुद्दा पेश गरेको हो ।

भ्रष्टाचार मुद्दा दायर भएपछि नेपालको सांसद पद निलम्बनमा परेको छ । पतन्जलीको जग्गा सट्टापट्टा प्रकरणमा अख्तियारले विहीबार नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेपछि उनको सांसद पद स्वतः निलम्बनमा परेको हो ।

नेकपा एकीकृत समाजवादीका अध्यक्षसमेत रहेका नेपालविरुद्धको केहीबेरअघि दर्ता भएको अख्तियार उच्च स्रोतले बतायो । नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ । उनी विरुद्ध १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो दाबी गरिएको अख्तियारले जनाएको छ ।

नेपालको इतिहासमा पहिलोपटक प्रधानमन्त्रीमाथि भ्रष्टाचार मुद्दा दर्ता भएको हो । यस्तै, मन्त्रिपरिषद्को निर्णयमाथि भ्रष्टाचारविरुद्धको मुद्दा चलेको पहिलोपटक हो । अख्तियार स्रोतका अनुसार ‘भ्रष्टाचार मुद्दाको फाइल विशेष अदालतमा पुगेको र केहीबेरमा औपचारिक विज्ञप्ति निकाल्ने तयारी छ ।