वजेटमा उल्लेखित ‘टेक एण्ड पे’ को प्रस्ताव ऊर्जा मन्त्रालयको होइन, संशोधनका लागि छलफल चलिरहेको छ : ऊर्जामन्त्री

न्यूज समय

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले बजेटमा उल्लेख गरिएको ‘टेक एण्ड पे’ को प्रस्ताव ऊर्जा मन्त्रालयबाट नभएको भन्दै संशोधनका लागि छलफल भइरहेको बताएका छन् । अपि पावर लिमिटेडको सहायक कम्पनी दार्चुला पावर कम्पनीले दार्चुलामा निर्माण गर्न लागेको मध्य चमेलिया जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन समारोहमा बोल्दै उनले बजेटमा राखिएको ‘टेक एण्ड पे’ को विषयलाई लिएर बैँक तथा वित्तीय संस्थाले जलविद्युत क्षेत्रमा लगानी नगर्नुपर्ने कुनै कारण नरहेको बताए ।

उनले भने–‘‘टेक एण्ड पे’ का कारण वित्तीय व्यवस्थापन कसरी होला भन्ने चिन्ता लिनुभएको होला, नआत्तिकन लगानी गर्नुहोस्, उक्त प्रस्ताव ऊर्जा मन्त्रालयको होइन, सो प्रस्तावलाई संशोधन गर्न अर्थ मन्त्रालयसँग छलफल भइरहेको छ ।’ मन्त्री खड्काले सरकारले आगामी १० वर्षमा २८ हजार ५०० मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य लिएको भन्दै उक्त लक्ष्यलाई पुरा गर्न निजी क्षेत्रको महत्त्वपूर्ण भूमिका रहेको बताए ।

छिमेकी मुलुक भारतसँगै नेपालले पहिलोपटक भारतीय प्रसारण लाइन हुँदै बङ्गलादेशलाई ४० मेगावाट विद्युत निर्यात थालनी गरेको भन्दै आगामी दिनमा यसलाई झन् बढाउन सकिने उनको भनाई छ । भारतसँग छलफल गरेर बङ्गलादेशको प्रसारण लाइनपनि विस्तार गर्ने गरी सरकार लागिरहेको उनले बताए । निजी क्षेत्रलाई सँगै साथमा लिएर हिँड्ने गरी ऊर्जा क्षेत्रमा बाधक रहेका कानुनलाई परिवर्तन गर्दै आगामी एक महिनाभित्र विद्युत ऐन ल्याउने तयारीमा मन्त्रालय लागिरहेको पनि उनले जानकारी दिए ।