कारागार रुपन्देहीमा रहेका रास्वपाका सभापति लामिछानेलाई काठमाडौं सार्ने प्रकृया थालियो

न्यूज समय

सहकारी ठगीको आरोपमा जिल्ला कारागार रुपन्देहीमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई काठमाडौं सार्ने प्रकृया थालिएको छ ।

पूर्व गृहमन्त्री समेत रहेका लामिछानेले थुना अवधि थप लम्बिने देखे पछि काठमाडौं सार्न गरेको माग संगै उनलाई काठमाडौं कारागार सार्ने तयारी थालिएको हो ।

लामिछानेको माग अनुसार रुपन्देही जिल्ला प्रशासन कार्यालयले कारागार व्यवस्थापन विभागमा स्वीकृतिका लागि पत्र पठाएको र स्वीकृत भए पछि उनलाई काठमाडौं सार्ने रुपन्देही प्रशासन कार्यालय स्रोतले बताएको छ ।

लामिछानेले परिवारका सदस्य र पार्टीका नेताहरूलाई पनि रुपन्देही आउन अप्ठ्यारो परेको भन्दै काठमाडौँ सरुवा गर्ने दिएको सल्लाह अनुसार काठमाडौं सार्ने प्रकृया अगाडि बढेको हो ।

विभागबाट स्वीकृत भएर आए लामिछानेलाई डिल्लीबजार कारागार वा केन्द्रीय कारागार सुन्धारामध्ये एकमा ल्याईने छ ।
उच्च अदालत तुलसीपुरको बुटवल इजलासले जिल्ला अदालत रुपन्देहीले २०८१ माघ १३ गते एक करोड रुपैयाँ धरौटीमा छाड्न गरेको आदेश बदर गर्दै पुर्पक्षका लागि थुनामा पठाउन दिएको आदेश संगै लामिछाने कारागार रुपन्देहीमा छन् ।