राजेन्द्र लिङदेनले सहभागि नहुने भनेपछि राजावादीको काठमाडौं उपत्यका बन्द फिर्ता

न्यूज समय

राजसंस्था पुर्नस्थापना गर्ने उद्देश्यले गठन भएको संयुक्त जनआन्दोलन समितिले काठमाडौं उपत्यका बन्दको कार्यक्रम फिर्ता लिएको छ । समितिले आज (जेठ १९)मा काठमाडौं उपत्यका बन्दको घोषणा गरेको थियो । राप्रपा नेपालका अध्यक्ष कमल थापा र राप्रपाका सांसद दीपक सिंहलगायत पक्राउ परेका व्यक्ति छोड्न माग गर्दै समितिले बन्दको घोषणा गरेको थियो ।

‘जेठ १८ गते प्रदर्शनको क्रममा हिरासतमा लिइएका हाम्रा सबै साथीहरू रिहा भइसकेको अवस्था मध्यनजर गर्दै जेठ १९ गतेलाई तोकिएको उपत्यका बन्दको कार्यक्रम फिर्ता लिएको जानकारी गराइन्छ,’ नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिले विज्ञप्ति जारी गर्दै भनेको छ ।

हिजो दिउँसो काठमाडौंको नारायणचौरमा भएको प्रदर्शनका क्रममा थापाले निषेधित क्षेत्र तोड्दै अघि बढ्न खोजेपछि प्रहरीले राप्रपा नेपालका अध्यक्ष थापासहितलाई नियन्त्रणमा लिएको थियो । तर साँझ अबेर उनीहरुलाई प्रहरीले रिहा गरेको थियो ।