राष्ट्रिय स्वतन्त्र पार्टीले भिजिट भिसा प्रकरणमा विपक्षी दलले गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने अडान कायमै राखेमा नेपाली कांग्रेसले उपसभामुख इन्दिरा रानामगरको राजीनामा माग गर्न दबाब बढेको छ। विपक्षी दलहरुले भिजिट भिसामा मानिस विदेश पठाउँदा सेटिङ गरेर पैसा उठाएको आरोप गृहमन्त्री लेखकमाथि लागेपछि कांग्रेसले यस अगाडि नै मानव तस्करीमा मुछिएकी उपसभामुखको राजीनामा माग गर्नुपर्ने माग उठाउने तयारी कांग्रेसले गरेको छ । यो विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाका बीच भेटमा पनि यो विषयमा कुराकानी भएको बताइएको छ ।
बिहीबार सरकारले आव २०८२–८३ को बजेट ल्याउँदैछ। जेठ १५ मा बजेट ल्याउनैपर्ने संवैधानिक बाध्यता भएको र त्यस अगाडि उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आव २०८१–८२ को आर्थिक सर्वेक्षण पेश गर्ने पर्ने भएकाले सरकारलाई आफ्ठेरो पर्ने भएपछि नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरु छलफलमा जुटेका हुन्। सरकारले संसद बैठकको अन्त्य गरेर अध्यादेशबाट बजेट ल्याउनुपर्ने बाध्यता सृजना भएमा उपसभामुखको राजीनामाको विषयलाई थप जोडदार रुपमा उठाउने विषयमा कांग्रेस एमाले नेताहरुकाबीचमा कुराकानी भएको बताइएको छ ।
उपसभामुखले गैर सांसदलाई अमेरिका जानका लागि भिसाका डेट चाँडो राखिदिन अमेरिकी दूतावासलाई पत्राचार गरेको थिइन्। ०७९ साल फागुन २२ देखि चैत ३ गतेसम्म अमेरिकाको न्युयोर्कमा हुने संयुक्त राष्ट्रसंघको संयन्त्र कमिसन अन द स्टाटस अफ वुमेनको ६७ औं सत्रमा भाग लिन जाने क्रममा उपसभामुखले असम्बन्धित व्यक्तिका लागि दूतावासमा पत्र लेखेकी थिइन्। जसमा ४ जना पुरुष र एकजना महिला थिए। यी पाँचैजना यो कार्यक्रमसँग असम्बन्धित व्यक्ति हुन्। उपेन्द्र गौतम, सुष्मा लामा, राजेश लामा, सुजन घर्ती मगर र धनप्रसाद गुरुङ पनि जान लागेको भन्दै उनले काठमाडौंस्थित अमेरिकी दूतावासलाई पत्राचार गरेकी थिइन्। उनले आफूलाई तिनीहरूमध्ये एकजनाले विशेष आग्रह गरेकाले पत्र लेखेको स्पष्टीकरण दिएकी थिइन्।
सोहि विषयलाई लिएर पटक–पटक नेपाली कांग्रेसले संसदमा राजीनामा माग गर्दै आएको थियो। विभिन्न तहमा बसेका बैठकहरूमा यदि यही कारणले अहिले गृहमन्त्रीले राजीनामा दिनुपर्ने अवस्था विपक्षीहरुले बनाउने हो भने यस्तै प्रकृतिको विवादमा उपसभामुखले पनि राजीनामा दिनुपर्ने भन्ने विषय उठेको स्रोतले बताएको छ। एक छानबिन समिति सरकारले गठन गर्ने र यी दुवै विवादको निराकरण नहुञ्जेलसम्मका लागि गृहमन्त्री र उपसभामुख दुवैले राजीनामा दिनुपर्ने कुरा सत्तारुढ दलका बैठकहरूमा उठेको नेपाली कांग्रेस स्रोतले जनाएको छ।
न्यूज समय
१४ जेष्ठ, २०८२, बुधबार ००:००