नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गणतन्त्रसहित धर्मनिरपेक्षता, समानुपातिक प्रतिनिधित्व र समावेशिताका मूल्यहरूको प्रभावकारी कार्यान्वयनमा पार्टी दृढ प्रतिबद्ध रहेको बताएका छन्।
बुधवार नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघ बागमती प्रदेशद्वारा आयोजित प्रदेशस्तरीय संगठनात्मक क्षमता अभिवृद्धि तथा सशक्तीकरण एवं प्रशिक्षक प्रशिक्षण कार्यक्रमको उद्घाटन समारोहलाई सम्बोधन गर्दै देउवाले यस्ता ऐतिहासिक उपलब्धिहरू कांग्रेसको नेतृत्वमा हासिल भएको दाबी गरे।
उनले संविधान संशोधनका क्रममा आदिवासी जनजातिहरूले प्राप्त गरेका अधिकारहरूलाई सुरक्षित राख्दै अझ प्रगतिशील बनाउन कांग्रेस प्रतिवद्ध रहेको स्पष्ट पारे।
सभापति देउवाले आदिवासी जनजाति लगायतका समुदायका चाडपर्वलाई राष्ट्रिय पहिचानका रूपमा स्वीकार गर्ने पहल नेपाली कांग्रेस नेतृत्वको सरकारले सुरु गरेको स्मरण गराए। कार्यक्रममा उनले नेपाली कांग्रेस आदिवासी जनजातिहरूको सशक्तीकरणका लागि सदैव सक्रिय रहँदै आएको उल्लेख गरे।
न्यूज समय
१४ जेष्ठ, २०८२, बुधबार ००:००