नेपाली कांग्रेसले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक निर्दोष रहेको ठहर गरेको छ । सोमबार बसेको पदाधिकारी बैठकले गृहमन्त्री लेखक अनियमिततामा संलग्न नभएको निष्कर्ष निकालेको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए ।
अध्यागमनबाट भइरहेको भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकको संलग्नता कतैबाट पुष्टि नहुने भन्दै सामाजिक सञ्जालमा अफवाह फैलाइएका भरमा राजीनामा दिन नहुने निष्कर्षमा कांग्रेस पुगेको हो । सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा भएको पदाधिकारी बैकपछि पत्रकारसँग कुरा गर्दै प्रवक्ता डा. प्रकाशशरण महतले यो प्रकरणमा गृहमन्त्री निर्दोष रहेको बताए ।
उनले अध्यागमनमा भएको अख्तियारको छापामारी र त्यसपछिका कुराहरू संसदभित्र र बाहिर गृहमन्त्रीले प्रष्ट पार्ने बताए । शेखर कोइरालालगायतका केही नेताले कुरै नबुझी गृहमन्त्रीको राजीनामा माग गरेकोमा कांग्रेस बैठकमा आलोचना भएको महतले बताए । उनले अब नेताहरूले वास्तविकता बुझेकाले त्यस्ता अभिव्यक्ति नआउने प्रष्ट पारे । प्रवक्ता डा. महतले यस्ता अफवाहको शिकार कांग्रेसकै नेताहरु समेत भएको बताए ।
बैठकमा गृहमन्त्री रमेश लेखकले उक्त प्रकरणको सबिस्तार ब्याख्या गर्दै कुनै संलग्नता नरहेको बताएका थिए । लेखकको कुरालाई पार्टीले पूर्णरुपमा विश्वास गरेको भन्दै महतले भिजिट भिसामा संलग्नमाथि निष्पक्ष छानविन गरेर कारवाही हुनुपर्ने बताए ।
न्यूज समय
१२ जेष्ठ, २०८२, सोमबार ००:००