परराष्ट्रमन्त्री डा राणा र जाइकाका अध्यक्षबीच भेटवार्ता

न्यूज समय

परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र जापान इन्टरनेशनल कोअपरेसन एजेन्सी, जाइकाका अध्यक्ष डा तानाका अकिहिकोबीच भेटवार्ता भएको छ । टोकियोस्थित जाइकाको मुख्यालयमा भएको सो भेटमा नेपाल जापान द्विपक्षीय सम्बन्ध र आपसी हितका विविध विषयमा कुराकानी भएको बताइएको छ ।

भेटका क्रममा मन्त्री डा राणाले नेपालको आर्थिक, सामाजिक लगायतका विविध क्षेत्रमा विगत लामो समयदेखि जाइका मार्फत जापान सरकारले पुर्‍याउँदै आएको सहयोगका लागि नेपालका तर्फबाट धन्यवाद ज्ञापन गरेको मन्त्रीको सचिवालयले जनाएको छ । मन्त्री डा राणाले जाइकाले नेपालका लागि आधारभूत सहयोग नीतिमार्फत आर्थिक वृद्धि र गरिबी निवारण, विपद् जोखिम न्यूनीकरण र जलवायु परिवर्तन तथा सुशासन एवं प्रजातन्त्रको सुदृढीकरण जस्ता क्षेत्रमा गरेको सहयोगको सराहना गर्दै नागढुंगा सुरुङ मार्गको निर्माण, सिन्धुली बर्दिबास सडकको पुन निर्माण एवं मर्मत सम्भार लगायत नेपालका कैयौँ क्षेत्रहरूमा जाइकामार्फत जापान सरकारले पुर्‍याउँदै आएको सहयोगको सराहना गरिन् ।

भेटमा उनीहरुबीच नेपाल जापान सम्बन्ध, जाइकाले नेपाललाई गरिरहेको सहयोग, जलवायु परिवर्तन र यसको असर, विपद् व्यवस्थापन, सुशासन र ज्येष्ठ नागरिकहरू सम्बन्धी विषयमा पनि कुराकानी भएको थियो ।