सभापति शेरबहादुर देउवालाई आफ्नो उत्तराधिकारी घोषणा गर्न र पूर्व पदाधिकारीहरूको छुट्टै समूह बनाउन लागेका नेपाली कांग्रेसका ७ जना पूर्व पदाधिकारीले सातै प्रदेशमा नेता कार्यकर्ताहरूसंग अन्तरक्रिया गर्ने भएका छन् ।
पार्टीका पूर्व उपसभापति गोपालमान श्रेष्ठको संयोजनमा भएको बैठकमा काठमाडौंसहित सातै प्रदेशमा अन्तरक्रिया गर्ने निर्णय भएको एक नेताले जानकारी दिए । पूर्व पदाधिकारीहरूको १५ औं महाधिवेशनमा छुट्टै प्यानल खडा गर्ने गरी निरन्तर छलफलमा रहेका उनीहरूले आइतबार सानेपामा श्रेष्ठको संयोजनमा बैठक गरेका थिए । सातै प्रदेशमा अन्तरक्रिया गर्ने सहमति भएपनि कहाँ कहिले गर्ने छिट्टै निर्णय लिने बैठकमा सहभागी एक नेताले बताए । उनले भने–‘हामी एकै ठाउँमा छौं । मिलेर जान्छौं भन्ने सन्देश दिनेगरी कार्यक्रम गर्न लागेका हौं ।’
उनका अनुसार यसै महिनाको अन्त्यबाट प्रदेशगत कार्यक्रम सुरु गरिने र कार्यक्रम पार्टीकै कुनै न कुनै संरचनालाई आयोजक बनाएर गरिने ती नेताले जानकारी गराए । उक्त बैठकमा पूर्व उपसभापति श्रेष्ठ विमलेन्द्र निधि, पूर्व महामन्त्रीत्रय कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, डा शशांक कोइराला, र पार्टी प्रवक्ता डा. प्रकाशशरण महत सहभागी थिए । अघिल्लो बैठकमा सहभागि हुने गरेको पूर्व उपसभापति विजय गच्छदार भने आजको बैठकमा उपस्थित थिएनन् ।
महाधिवेशन केन्द्रित समीकरण बनाउने गरी सात नेताहरूको बैठक निरन्तर बस्दै आएको छ । नेताहरूका अनुसार १५÷१५ दिनमा समूहको बैठक बस्ने मोटोमोटी सहमति बनेको छ ।
न्यूज समय
५ जेष्ठ, २०८२, सोमबार ००:००