नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टीको लोकतान्त्रिक अभ्यासलाई सशक्त बनाउने मार्गका रूपमा महाधिवेशन समयमै सम्पन्न हुनुपर्नेमा जोड दिएका छन्। काठमाडौंमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै महरले पार्टीको संगठनात्मक तयारी, अधिवेशनको पूर्वाधार र विधानअनुसारका प्रक्रियामा देखिएको सुस्तताले महाधिवेशन समयमै सम्पन्न हुनेमा आशंका पैदा भएको बताएका हुन्।
उनले भने–‘महाधिवेशन केवल एक औपचारिकता नभएर यो पार्टीको नीति निर्माण, आत्मसमीक्षा, नेतृत्व हस्तान्तरण र संगठन सुदृढीकरणको अवसर हो । हामीले प्रक्रिया र समयतालिकालाई गम्भीरतापूर्वक नलिने हो भने पार्टीको संस्थागत क्षमता र जनतासँगको भरोसा दुवै कमजोर हुन सक्छ।’
उनले विधानतः तोकिएको अवधिमा अधिवेशन नगर्नु पार्टी नेतृत्वको जिम्मेवारीबाट पलायन हो। अहिले नै तहगत अधिवेशन सम्पन्न गर्दै केन्द्रीय अधिवेशनको तयारीमा लाग्न आवश्यक छ । महरले संगठनभित्रको काममा स्पष्ट समयरेखा, कार्ययोजना र पारदर्शी प्रक्रिया सुनिश्चित नगरी महाधिवेशनको सफल सम्भावना कमजोर हुने बताए।
न्यूज समय
८ बैशाख, २०८२, सोमबार ००:००