माओवादी अध्यक्ष दाहालले भनेकै भरमा सरकार बन्ने र ढल्ने हुँदैन : कांग्रेस

न्यूज समय

सत्तारुढ दल नेपाली कांग्रेसले प्रतिपक्षी दलका नेता पुष्पकमल दाहालले सार्वजानिक भाषण गरेकै भरमा सरकार नढल्ने स्पष्ट पारेको छ ।

बिहीबार पार्टी सभापति शेरबहादुर देउवा निवासमा बसेको पूर्व पदाधिकारी, पदाधिकारी र मन्त्रीसहितको बैठकपछि प्रवक्ता प्रकाशशरण महतले प्रमुख प्रतिपक्षी दलले त सरकारको प्रतिपक्षमा भएको हुनाले सरकार ढलिहालोस् भन्ने स्वभाविक धर्म नै भएको बताउदै दाहालले के भन्नुहुन्छ भन्ने आधारमा सरकार बन्ने र ढल्ने कुरा नहुने स्पष्ट पारे । कांग्रेसले सरकारको प्रभावकारिता बढाउनुपर्ने निष्कर्ष निकालेको छ ।

प्रवक्ता महतले भने–‘सरकारको पर्फमेन्स अझ बेटर हुनुपर्छ । गठबन्धन दलबीच समन्वय हुनुर्‍यो र सन्तुलन पनि हुनुपर्‍यो । अझ सशक्तरूपमा डेलिभरी दिन सक्नुपर्छ र तालेमल मिल्नुपर्छ भनेर साथीहरूले राख्नुभयो ।’

सरकारको कामलाई थप प्रभावकारी बनाउन कांग्रेस नेतृत्वले प्रधानमन्त्रीसँग संवाद गरिरहेको र सुधारका लागि छलफल भइरहेको उनको भनाइ छ ।