चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आज श्रद्धा भक्तिपूर्वक भगवान् श्री रामचन्द्रको पूजा आराधना गरी मनाइँदैछ । त्रेतायुगमा अयोध्याका राजा दशरथ र महारानी कौसल्यादेवीको सुपुत्रका रुपमा श्री रामचन्द्रको जन्म चैत्र शुक्ल नवमीकै दिन भएको थियो । विष्णुको सातौँ अवतार मानिन्छ ।
धर्मशास्त्रविद्ले रामनवमी पर्व मनाउनुको महत्व रामजस्तै मर्यादित, अनुशासित र नियन्त्रित राज्य सञ्चालकको आशा गर्नुभएको बताएका छन् । जसलाई अहिले पनि रामराज्य भनिन्छ । रामको राज्यबाट जसरी सारा मानिस खुसी थिए, अहिलेका शासकले त्यस्तै बन्न सक्नुपर्ने र त्यसबेला जनता पनि अनुशासित, मर्यादित र नियन्त्रित थिए, यसैले रामलाई मर्यादा पुरुषोत्तम भनिएको उनीहरुको भनाई छ ।
रामनवमीको महत्वका विषयमा गाग्र्यतन्त्र कृष्ण वचनअनुसार चैत्र अष्टमीका दिन अष्ट मातृकाको पूजा गरेर नवमीका दिन रामचन्द्रको पूजा गरी जप, पाठ र ध्यान गर्नाले मनले चिताएको काम सफल हुने उल्लेख छ । यस अवसरमा नेपालको जनकपुर र भारतको अयोध्यामा रामलीला प्रदर्शन गरिन्छ ।
रामनवमीका दिन देवी पूजा गरी रामचन्द्रको पूजा, पाठ एवं आराधना गरेमा ‘श्री’ प्राप्त हुने शास्त्रीय मान्यता छ । त्रेतायुगमा आजकै दिन भारतको अयोध्यामा भगवान् श्रीरामको जन्म भएको स्मृतिमा पवित्र नदी, ताल तथा कुण्डमा स्नानका साथ व्रत बसी रामगीता पाठ, अध्यात्म, वाल्मीकीय, तुलसीकृत र भानुभक्तीय रामायण वाचन गर्ने र भगवान् रामको पूजा आराधना गरी रातभरि भजनकीर्तन गर्ने परम्परा छ । राम नवमीकै अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदासमेत दिएको छ
न्यूज समय
२४ चैत्र, २०८१, आईतबार ००:००