मौलिक पर्वले हाम्रो प्राचीन सभ्यताका साथै धर्म र संस्कृतिको जगेर्ना गर्न थप मद्दत पुग्ने राष्ट्रपतिको विश्वास

न्यूज समय

राष्ट्रपति रामचन्द्र पौडेलले शताब्दियौँदेखि प्रचलनमा रहेका यस्ता मौलिक पर्वले हाम्रो प्राचीन सभ्यताका साथै धर्म र संस्कृतिको जगेर्ना गर्न थप मद्दत पुग्ने विश्वास गरेका छन् । रामनवमी पर्व, २०८१ का अवसरमा शुभकामना सन्देशमार्फत राष्ट्रपति पौडेलले नेपालीको मौलिक संस्कृति र परम्पराको संरक्षण तथा प्रवद्र्धन गरी रामनवमी जस्ता पर्वले सम्पूर्ण नेपालीबीच आपसी समझदारी, दिगो शान्ति एवम् भाइचाराको भावना अभिवृद्धि गर्न उत्प्रेरित गर्न सकोस् भन्ने कामना गरेका छन् ।

शुभकामना सन्देशमा उनले शताब्दियौँदेखि प्रचलनमा रहेका यस्ता मौलिक पर्वले हाम्रो प्राचीन सभ्यताका साथै धर्म र संस्कृतिको जगेर्ना गर्न थप मद्दत पुग्ने विश्वास गरेका छन् । यस दिन भगवान् श्रीरामको विशेष पूजा अर्चना, व्रत अनुष्ठान र जप ध्यान गर्नाले भगवत् कृपा प्राप्त भई आफूले चिताएको सम्पूर्ण कार्य पूरा हुने जनविश्वास रहेको राष्ट्रपति पौडेलले जारी गरेको शुभकामना सन्देशमा उल्लेख छ ।

रामनवमी भगवान् श्रीरामको जन्म दिवस मात्र नभई यो दिनलाई समस्त पृथ्वीमा अधर्मको पराजय र धर्मको स्थापना भएको खुसियालीको दिवसका रुपमा पनि लिइन्छ । हरेक वर्ष चैत महिनाको शुक्ल पक्षको नवमी तिथिका दिन मर्यादा पुरुषोत्तम भगवान् श्रीरामचन्द्रको जन्मदिनको रुपमा ‘राम नवमी’ पर्व धुमधामका साथ मनाउने परम्परा रहिआएको छ ।