केन्द्रीकृत शासन भइरहेकाले असन्तुष्टि बढेको र देश विकास हुन नसकेको डा शशांकको भनाई

न्यूज समय

नेपाली कांग्रेसका पूर्व महामन्त्री डा शशाङ्क कोइरालाले हाल केन्द्रीकृत शासन भइरहेकाले असन्तुष्टि बढेको र देश विकास हुन नसकेको बताएका छन् । बिहीबार लोकतन्त्र दिवसका अवसरमा डा कोइरालाले आफ्नै निवासमा आयोजना गरेको चियापान कार्यक्रममा कुराकानी गर्दै उनले नेताहरुकै कारण समस्या बढिरहेको औंल्याए ।

उनले केन्द्रमा रहेको पावर तल्लो तहसम्म दिन नचाहेको कारण वा केन्द्रकृत शासन रहेकै समस्या बढेको बताए । उनले वडा–वडासम्म बजेट र अधिकार विकेन्द्रीकरण गर्नुपर्ने आवश्यकता रहेको औंल्याए । त्यस्तै उनले संघ, प्रदेशमा केन्द्रले कुनैपनि किसिमको हस्पक्षेप गर्न नमिल्ने धारणा राखे । लोकतन्त्रको सफल कार्यान्वयनको ठूलो जिम्मेवारी थपिएको भन्दै दुईवटा ठूला दलले मिलेर नेतृत्व गरिरहँदा पनि कार्यान्वयन गरेन भने प्रश्न चिन्ह् खडा हुने उनको भनाइ छ ।

उनले आउने पुस्तालाई संघीय, लोकतन्त्र भनेको के भन्ने विषयमा प्रशिक्षण दिनुपर्ने बताउँदै उनीहरु प्रशिक्षित भए भने भविष्यमा यसले निरन्तरता पाउने धारणा राखे । चियापानमा कांग्रेस नेताहरू विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्ण सिटौला, प्रकाशशरण महत, पुष्पा भुसाल लगायत पुगेका छन् । यसलाई महाधिवेशनका लागि कोइरालाको शक्ति प्रदर्शनको रूपमा अर्थ्याइएको छ ।