फागुन मात्रै चार हजार ४६८ आपराधिक घटना प्रहरीमा, सबैभन्दा बढि बैंकिङ कसुरका मुद्दा

न्यूज समय

फागुन महिनामा नेपाल प्रहरीमा दर्ता भएको मुद्दा मध्ये सबैभन्दा बढि बैंकिङ कसुरका रहेका छन् । प्रहरीका अनुसार देशभर चार हजार ४६८ आपराधिक घटनाका मुद्दा दर्ता भएका मध्ये बैंकिङ कसुरका मात्रै २५.२२ प्रतिशत रहेका छन् । फागुनमा सबैभन्दा बढी बैंकिङ कसुरका एक हजार १२७ मुद्दा दर्ता भएको प्रहरीको भनाई छ ।

पछिल्लो समयमा प्रविधिको विकाससँगै सामाजिक सञ्जालको दुरुपयोगबाट हुने अपराधका घटना बढ्दै गएको प्रहरीको भनाई छ । त्यसैगरी सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धका ५२१ अपराधका मुद्दा दर्ता भएका छन् । आत्महत्यासम्बन्धी अपराधका पाँच सय एक, लागुऔषधसम्बन्धी ४१९, चोरीका २८६, जबर्जस्ती करणीका एक सय ६८, ठगीसम्बन्धी १६२, सवारी ज्यान मुद्दा एक सय ५४, ज्यान मार्ने उद्योगमा ७१ तथा कर्तव्य ज्यानसम्बन्धी ४२ मुद्दा प्रहरीमा दर्ता भएका छन् ।

काठमाडौँ उपत्यकामा एक हजार तीन सय ३७ मुद्दा दर्ता भएका प्रहरीले जनाएको छ । मधेस प्रदेशमा ७१५, कोशी प्रदेशमा ६६५, लुम्बिनी प्रदेशमा ६१२, बागमतीमा ३७६, सुदुरपश्चिममा २७९, गण्डकी प्रदेशमा तीन सय २३ तथा कर्णाली प्रदेशमा एक सय ६१ आपराधिक घटनाका मुद्दा प्रहरीमा दर्ता भएका प्रहरीले जनाएको छ।