नेपाली कांग्रेसका केन्द्रीय सदस्य मधु आचार्य भद्र तथा बौद्धिक नेताका रुपमा चिन्छिन् । पार्टीको १४ औं महाधिवेशनमा डा शेखर कोइराला समूहबाट केन्द्रीय सदस्य बनेका आचार्य काभ्रे कांग्रेसका पूर्व जिल्ला सभापति हुन् । तर आचार्य अहिले भने महामन्त्री गगन थापाको गुटमा रहेका छन् । सो गुटमा इमान्दार बन्नका लागि आचार्यको छविमा कालो धब्बा लागेको छ ।
कांग्रेसको भ्रातृ संगठन लोकतान्त्रिक अपाङ संघको महाधिवेशन गराउनका लागि बनेको निर्देशक समितिको संयोजक रहेका आचार्यले गगन थापाको गुटमा इमान्दार बन्नका लागि जबरजस्ती महाधिवेशन गराएका छन् ।
गगन निकट रहेका माधव चम्लागाईलाई संघको अध्यक्ष बनाउनका लागि आचार्यले लगभग नाङ्गै मैदानमा उत्रिएको बताइएको छ । आचार्य सुरुमा थापाको टिममा नै रहेको बर्तमान अध्यक्ष प्रकाश पन्थलाई फेरि अध्यक्ष बनाउन चाहान्थे तर गगन निकटका केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीको हाम्रोकुरा डटकमका साझेदार चम्लाईलाई अध्यक्ष बनाए मात्रै गगनको गुटमा विश्वासिलो भइने बचन पाएपछि पन्थलाई छाडेर नाङ्गै उत्रिएको बताइएको छ ।
कांग्रेसको १४ औं महाधिवेशनसम्म राष्ट्रपति रामचन्द्र पौडेल निकट रहेका आचार्य पौडेलकै गृहजिल्ला तनहुँका प्रकाश पन्थलाई अध्यक्ष बनाउन चाहान्थे तर गगन गुटमा रहेका अजयबाबुले असहमति जनाएपछि उनी पछि हटेका हुन् ।
आचार्यले अपाङ्ग संघको पहिलो महाधिवेशनमा अध्यक्षका उमेदवार रहेका विकास थापा र कल्पना खड्कालाई प्रहरीको घेराबन्दीमा राखेर एकलौटी रुपमा चम्लागाइको पक्षमा मतदान गराइएको छ । निर्देशक समितिमा रहेका मदकृष्ण श्रेष्ठको असहमतिकाबीच आचार्यले फर्जी मतदाता बनाएर जबरजस्ती मतदान गराएको आरोप लागेको छ ।
डा शेखर कोइराला पक्षका नेता गुरुराज घिमिरेले लोकतान्त्रिक अपांग संघको निर्वाचनमा सत्ताको दुरुपयोग गरिएको आरोप लगाएका छन् । संघको अधिवेशनमा पार्टीका साथीहरुलाई प्रहरीको घेराबन्दीमा राखेर निर्वाचन गराईएको उनले आरोप लगाए । उनले यस्तो कार्यले पार्टी भित्रको आन्तरिक लोकतन्त्रको नाजुक अवस्थालाई उजागर गरेको उल्लेख गर्दै अनुचित निर्वाचन गराउने निर्देशक समिति र अग्रगामी नारा उराल्ने पार्टी नेताहरुप्रति गम्भीर खेद प्रकट गरेका छन् ।
उनले लेखेका छन् –‘आफ्नै पार्टीका साथीहरू बिकास थापा र कल्पना खड्का लगायतलाई प्रहरी घेराबन्दीमा राखेर गरिएको नेपाल लोकतान्त्रिक अपांग संघको निर्वाचन आपत्तिजनक छ।यसले पार्टी भित्रको आन्तरिक लोकतन्त्रको नाजुक अवस्थालाई उजागर गरेको छ । यस्ता कार्यले मौजुदा प्रणालीमाथि गम्भीर प्रश्न खडा भएको छ । अब नयाँ दृष्टिकोणबाट पुनर्विचार गरिनेछ । यस्तो अनुचित निर्वाचन गराउने निर्देशक समिति र अग्रगामी नारा उराल्ने पार्टी नेताहरुप्रति गम्भीर खेद प्रकट गर्दछु ।’
न्यूज समय
१० चैत्र, २०८१, आईतबार ००:००