वरिष्ठ पत्रकार एवम् प्रजातन्त्र सेनानी, पुर्नजागरण पत्रिकाका संस्थापक सम्पादक माथवर सिंह बस्नेतको निधन भएको छ। विहिबार साँझ ५ बजे बस्नेतलाई मस्तिष्कघात भएपछि अन्नपूर्ण न्यूरो अस्पताल माइतीघरमा उपचारका क्रममा निधन भएको हो । २००४ साल माघ २६ गते भक्तपुरको सूर्यविनायक नगरपालिका–८, सिपाडोलमा जन्मिएका बस्नेत नेपाली कांग्रेसका एक निष्ठावान कार्यकर्ता थिए ।
२०२५ सालदेखि कांग्रेस राजनीतिमा सक्रिय रहेका उनले प्रजातन्त्र पुनःस्थापनाका आन्दोलनमा खेलेको भूमिकाका कारण २०२८ सालमा ९ महिना नजरबन्दमा परे । त्यसपछि २०२९ सालको विद्यार्थी आन्दोलनमा पक्राउ परी तीन महिना हिरासतमा रहेका थिए । २०३० सालमा सशस्त्र आन्दोलनकै क्रममा पक्राउ परी जन्मकैदको सजाय भोग्नुपरेका बस्नेत २०३७ सालमा जेलमुक्त भएपछि बहुदलीय व्यवस्था पुनःस्थापनाका लागि अभियानमा जुटेका थिए । २०३८ सालदेखि उनले पुनर्जागरण मासिक पत्रिकाको सम्पादन तथा प्रकाशनमार्फत प्रजातन्त्रप्रति आफ्नो अडान कायमै राखेका थिए ।
२०४२ सालको सत्याग्रहमा चार महिना जेल बस्नुपरेका बस्नेतले लौहपुरुष गणेशमान सिंहको जीवनमा आधारित मेरो कथाका पानाहरू शीर्षकको ६०० अंशमा धारावाहिक रूपमा प्रकाशन गरेर पत्रकारिता क्षेत्रमै महत्वपूर्ण योगदान गरेका छन् । बस्नेतले नेपाली पत्रकारिता, प्रजातन्त्र स्थापनाका लागि उल्लेखनीय योगदान पुर्याएका छन् ।
न्यूज समय
९ चैत्र, २०८१, शनिबार ००:००