लोडसेडिङ रोक्न विद्युत आपूर्ति बढाउने विषयमा भारतसँग कूटनीतिक पहल थालेको मन्त्री राणाको भनाई

न्यूज समय

परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपालमा जारी विद्युत् अभाव समाधान गर्न भारतबाट विद्युत् आपूर्तिको मात्रा बढाउने विषयमा कूटनीतिक पहल थालेको बताएकी छन् । भारत भ्रमणमा रहेकी मन्त्री राणाले स्वदेश फर्कनु अघि समाजिक संजाल मार्फत यस्तो जनकारी गराएकी हुन् ।

उनले आफूले नेपालतर्फ भइरहेको विद्युत निर्यातलाई निरन्तरता दिन र थप बढाउन अनुरोध गरेको जनाएकी छन् । उर्जामन्त्री दिपक खड्काले भारतबाट आउने बिजुली सुख्खा याममा कटौती हुने भएकाले लोडसेडिङ हुनसक्ने बताइरहेका बेला परराष्ट्रमन्त्री राणाले यो कुटनीतिक पहल गरेको जानकारी गराएकी हुन् ।

ऊर्जामन्त्री र विद्युत प्राधिकरणका एमडी कुलमान घिसिङ बीचको व्दन्दका कारण औद्योगिक क्षेत्रमा विद्युत कटौती हुन थालिसकेको छ । यो अवस्था घरयासी प्रयोजनको विद्युत सेवामा पनि पर्ने अडकल काटिएको छ ।