नेपाली कांग्रेसको भ्रातृ संगठन लोकतान्त्रिक अपाङ्ग संघको प्रथम महाधिवेशन आजबाट सुरु हुँदैछ । आज र भोली पार्टी केन्द्रीय कार्यालय सानेपामा हुने महाधिवेशनको सम्पूर्ण तयारी सकिएको बताइएको छ । ७७ जिल्लाका लगभग एक हजार प्रतिनिधि महाधिवेशनमा सहभागि हुने अपाङ्ग संघले जनाएको छ ।
संघको विधान अनुसार ५१ जनाको कार्यसमिति रहनेछ । जसमा निर्वाचित हुने पदहरू अध्यक्ष एक जना, उपाध्यक्ष (महिला-खुला) दुइ जना, महामन्त्री खुला दुइ जना, सदस्यहरू ३ महिला सहित खुला १० जना, फरक प्रकारको अपाङ्गताबाट १० जना, प्रत्येक प्रदेशबाट महिला र खुला गरी दुइ जनाका दरले १४ जना गरी जम्मा ३९ जनाको निर्वाचन हुने छ भने बाँकी १२ जना महिला र समावेशी सिद्धान्तका आधारमा मनोनित गर्ने व्यवस्था छ ।
हालसम्म अध्यक्षका लागि बर्तमान अध्यक्ष प्रकाश पन्त, भोजन व्यवस्थापन समितिकी संयोजक कल्पना खड्का, प्रचार प्रसार समितिका संयोजक माधव चम्लागाई र पूर्व केन्द्रीय सदस्य विकास थापा आकांक्षी देखिएका छन् ।
हाल अध्यक्ष रहेका पन्त आरक्षणतर्फबाट राष्ट्रिय सभा सदस्य भइसकेका छन् । उनले फेरिपनि संघको नेतृत्वमा आउने इच्छा गरेका छन् । उनी महामन्त्री गगन थापा निकट छन् । खासगरि पन्तलाई अध्यक्ष बनाउनका लागि महामन्त्री थापा निकट रहेका केन्द्रीय सदस्य एवम् संघको महाधिवेशन सम्पन्न गर्न कांग्रेसले बनाएको निर्देशक समितिका संयोजक मधु आचार्यको जोडबल रहेको छ ।
त्यस्तै खड्कालाई सभापति शेरबहादुर देउवा निकटहरूको साथ रहने देखिन्छ । उर्जा राज्यमन्त्री कान्छाराम तामाङले गृहजिल्ला रामेछापकी खड्कालाई सभापति देउवाको सहयोग जुटाउने बताएका छन् । अध्यक्षको आकांक्षी चार जनामध्ये सभापति देउवा निकट कोही नभएकाले पनि खड्कालाई सभापति देउवाको साथ र सहयोग रहने बताइएको छ । १४ औं महाधिवेशनसम्म तत्कालिन वरिष्ठ नेता रामचन्द्र पौडेल र तत्कालिन महामन्त्री डा शशांक कोइराला निकट रहेका कारण पनि उनलाई सभापति देउवाको सहयोग रहने देखिन्छ ।
यस्तै अर्का आकांक्षी चम्लागाई हाल संघको केन्द्रीय सदस्य छन् । उनी प्रथम महाधिवेशन प्रचारप्रसार समिति संयोजक पनि छन् । उनी पनि महामन्त्री गगन थापा निकट हुन् । चम्लागाईलाई अध्यक्ष बनाउनका लागि गगन निकट केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी लागेका छन् । शिवाकोटी नेपाल प्रेस युनियनका महासचिव हुँदा चम्लागाँई युनियनको केन्द्रीय सदस्य थिए ।
अर्का अध्यक्षका आकांक्षी विकास थापा संघको पुर्व केन्द्रीय सदस्य हुन् । उनी कांग्रेस बरिष्ठ नेता डा शेखर कोइराला निकट मानिन्छन् । पार्टी सभापति शेर बहादुर देउवाले महाधिवेशन उदघाटन गर्ने कार्यक्रम छ।
न्यूज समय
७ चैत्र, २०८१, बिहीबार ००:००