जलवायु परिवर्तनका कारण माघदेखि नै सोलुखुम्बुमा हावाहुरीको वितण्डा

न्यूज समय

सोलुखु्म्बुमा गत माघदेखि चैत ३ गतेसम्ममा हावाहुरीका कारण जिल्लामा २६ वटा घटना भएका छन् । जसमा २० वटा निजि घर तथा संरचना, तीन वटा विद्यालय भवन, दुई वटा धार्मिक संरचना र एउटा सरकारी संरचनामा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय सोलुले जानकारी दिएको छ ।

प्रहरीका अनुसार खुम्बु पासाङ ल्हामु गाउँपालिकामा सबै भन्दा बढी १४ वटा भौतिक संरचनामा क्षति पुर्‍याएको छ । जसमा १० वटा निजी घर तथा संरचना, दुई वटा गुम्बा, सीमा प्रशासन कार्यालय नाम्चेको कार्यालय रहेको सरकारी संरचना र एक विद्यालय भवनमा क्षति पुगेको छ ।

सोलुदुधकुण्ड नगरपालिकामा एक विद्यालय भवन र सात निजी घर गरी आठ वटा र सोताङ गाउँपालिकामा एक विद्यालय भवन र तीन घरमा गरी चार वटा संरचनामा क्षति पुर्‍याएको प्रहरीले जनाएको छ । लाइन विस्तार भएका क्षेत्रमा रुखहरु ढल्ने कारण सदरमुकामसहितका क्षेत्रमा धेरै पटक विद्युत् सेवा अवरुद्ध भइरहेको छ । हावाका कारण बाहिर हिँड्डुल गर्न तथा विद्यार्थीलाई विद्यालय जान जोखिम हुने गरेको छ ।

घरका छानोहरु उडाउने तथा बाटो आसपासका रुखहरु ढलेर दुर्घटना निम्तने जोखिम उच्च रहेको भन्दै स्थानीय प्रशासनले सूचना नै जारी गरेको छ । विगतमा सामान्य हावा चल्ने भए पनि यस पटक सोलुखुम्बुमा अस्वाभाविक गतिमा हावा चलेको अनुभव स्थानीयको छ । हावाका कारण सगरमाथा क्षेत्रको थामेदेखि सदरमुकाम सल्लेरीसहित सोताङ आसपासमा घर, विद्यालय जस्ता संरचनाहरुमा ठूलो क्षति पुगेको छ ।

विज्ञहरुका अनुसार यसरी तीव्र गतिमा अस्वाभाविक हावाहुरी चल्नु जलवायु परिवर्तनको गम्भीर असर हो । स्थानीय मौसमी प्रणालीहरू पर्वतीय भूभाग भएका क्षेत्रमा स्थानीय मौसमी प्रणालीको विकास हुन सक्छ । जसले तीव्र हावाहुरी निम्त्याउन सक्ने डा उप्रेतीको भनाइ छ । हिमाली क्षेत्रमा तापक्रमको तीव्र उतारचढावले हावाको चापमा परिवर्तन गराई तीव्र गतिको हावाहुरी सिर्जना भएको विज्ञहरूको दाबि छ ।