नेपाली साहित्यका मूर्धन्य साहित्यकार एवम् बसाई उपन्यासका लेखक लीलबहादुर क्षेत्रीको निधन भएको छ । उनको फागुन २९ गते राति १०ः१० बजे भारतको मरिखाली गुवाहाटीस्थित आफ्नै निवासमा निधन भएको हो । सन् १९३३ को १ मार्चका दिन गुवाहाटी टकौबारीमा जन्मेका उनी ९२ वर्षका थिए ।
नेपाली साहित्यमा लीलबहादुर छेत्रीको स्थान महत्वपूर्ण छ । उनी एक सफल उपन्यासकार, कथाकार, निबन्धका थिए । उनको पहिलो रचना सन् १९४९ मा शालाङको एउटा वाणी प्रिन्टिङ प्रेसबाट प्रकाशित भएको थियो । हालसम्म उनका बसाईं, अतृप्त , ब्रह्मपुत्रका छेउछाउ, प्रतिध्वनि विस्मृतिका, जस्ता प्रख्यात उपन्यास प्रकाशित छन् । उनका तीन दशक बिस अभिव्यक्ति, लीलबहादुर छेत्रीका कथाहरू, र कहिल्यै नफुक्ने गाँठो गरी तीन वटा कथासङ्ग्रह प्रकाशित छन् ।
आफ्नो सरकारी सेवाका क्रममा उनले सन् १९५९ देखि २१९६७ सम्म आकाशवाणी गौहाटीमा नेपाली कार्यक्रम परिचालन गरेका थिए । लीलबहादुर छेत्री असामका विभिन्न साहित्यिक संस्थासित सक्रिय रूपमा संलग्न थिए । उनलाई हाम्रो ध्वनि पत्रिकाको सर्वेक्षणअनुसार असमका नेपाली लेखकहरूबिचमा शताब्दी पुरुष भन्ने उपाधि पनि प्रदान गरिएको थियो ।
उनले आफ्नो जीवनकालमा नेपाल तथा भारतका प्रतिष्ठित पुरस्कार तथा सम्मानहरू प्राप्त गरेका थिए । जसमध्ये मदन स्मारक व्याख्यानमाला सम्मान, वेदनिधि पुरस्कार, अगम स्मृति पुरस्कार, असम नेपाली साहित्य सभा पुरस्कार, नई देरुनिख अन्तर्राष्ट्रिय पुरस्कार, पूर्वाञ्चल साहित्य शिरोमणि पुरस्कार, हरिभक्त कटुवाल स्मृति पुरस्कार, जगदम्बाश्री पुरस्कार, बसुन्धराश्री पुरस्कार लगायत रहेका छन् । उनले भारतको प्रतिष्ठित पद्मश्री समेत भारतीय राष्ट्रपतिवाट सन् २०२० मा प्राप्त गरेका थिए ।
न्यूज समय
१ चैत्र, २०८१, शुक्रबार ००:००