कोशी प्रदेशसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओली, विपक्षीद्धारा बहिष्कारको चेतावनी, सत्तारुढले लगाए ह्वीप

न्यूज समय

प्रधानमन्त्री केपी शर्मा ओलीले आज कोशी प्रदेश सभामा सम्बोधन गर्ने भएका छन् । प्रदेशसभाको दिउँसो २ बजे बस्ने बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम तय भएको प्रदेशसभा सचिवलायले जनाएको छ। प्रधानमन्त्री ओलीको सम्बोधन सुन्नका लागि सत्तारुढ दलहरु एमाले र कांग्रेसले आफ्ना सांसदहरूलाई ह्वीप जारी गरेका छन्।

एमालेले सोमबार संसदीय दलको बैठकमार्फत् सबै ४० सांसदहरूलाई अनिवार्य रूपमा उपस्थित हुन निर्देशन दिएको थियो। नेपाली कांग्रेसले पनि आफ्ना २९ सांसदहरूलाई बैठकमा उपस्थित हुन निर्देशन दिइसकेको छ। प्रमुख सचेतक गोपाल तामाङका अनुसार प्रधानमन्त्रीको सम्बोधनलाई मध्यनजर गर्दै कांग्रेसले ह्वीप जारी गरेको हो।

यसैबीच, विपक्षी दलहरूले भने प्रधानमन्त्रीको सम्बोधन बहिष्कार गर्ने चेतावनी दिएका छन्। सरकार संसद्‌मा उठाइएका विषयहरू सम्बोधन गर्न असफल भएको र संसद्‌लाई पेलेर अघि बढ्न खोजेको आरोप उनीहरुको छ।