लोकतन्त्रमा मात्रै सबै वर्गको अधिकार सुनिश्चित हुन्छ : सभापति देउवा

न्यूज समय

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लोकतन्त्रमा मात्रै सबै वर्गको अधिकार सुनिश्चित हुने बताएका छन् । बिहीबार पार्टी केन्द्रिय कार्यालय सानेपामा नेपाल भुतपूर्व सैनिक संघको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले नेपाल भुतपूर्व सैनिक संघमा समस्या रहेको कुरालाई बुझेर आफूले समाधानका लागि पहलकदमी गरिरहेको बताए । उनले गोरखा भर्ती केन्द्रका बारेमा सरकारसँग कुरा भइरहेको पनि जानकारी गराए । देउवा गोरखा भर्तीका समस्या समाधानका लागि कुटनीतिक तहमा कुरा अगाडि बढाउने प्रतिवद्धता जनाए ।

उनले प्रजातन्त्र स्थापना र पुनःस्थापना एवं नेपालको हरेक लोकतान्त्रिक आन्दोलनमा भुतपूर्व सैनिकहरुले पुर्‍याउनुभएको योगदान महत्वपूर्ण रहेको बताए । सभापति देउवाले सबै भ्रातृ एवं शुभेच्छुक संस्था बलियो भए हाम्रो नेपाली कांग्रेस पार्टी बलियो हुने जिकिर गरे । नेपाली कांग्रेस बलियो पार्टी भए मात्रै नेपाल समृद्ध मुलुक बन्नसक्ने बताए ।