चन्द्र ढकालको कागज उद्योग उद्घाटनका लागि प्रधानमन्त्री ओली महोत्तरी जाँदै

न्यूज समय


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालको महोत्तरीको गौशाला–१ इँटाटारमा देशकै सबैभन्दा ठूलो कागज उद्योगको उद्घाटनका लागि महोत्तरी जान लागेका छन् । उनी आज विहान साढे ११ बजे त्यहाँ पुग्ने जनाइएको छ। झन्डै दुई अर्ब रुपैयाँको लगानीमा ‘नेपाल पल्प एन्ड पेपर इन्डस्ट्रिज प्रालि‘ नामक उद्योग ढकाल अध्यक्ष रहेको आइएमई ग्रुपले स्थापना गरेको हो ।

हाल उक्त उद्योगमा आईएमई समूहलगायतको २ अर्ब रुपैयाँ बढी लगानी रहेको छ । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१ स्थित रामनगरमा रहेको यस उद्योगमा नेपाली लगानीकर्ताहरूकै लगानी रहेको छ । २०७८ सालमा शिलान्यास भएको यो उद्योगको निर्माण प्रक्रिया सकिएर २०८१ पुसदेखि उत्पादन शुरु गरिसकेको छ । यो उद्योगले आयात प्रतिस्थापन गर्दै स्वदेशमै ठूलो मात्रामा रोजगारी सिर्जना गर्ने छ । नेपालमा वार्षिक झण्डै डेढ लाख मेट्रिक टन पेपर खपत भइरहेको छ । नेपालमा कागज उद्योग नहुँदा अहिले सबै कामका लागि आवश्यक कागज आयात गर्नुपर्ने अवस्था छ ।

स्कुल कलेजमा लेख्ने–पढ्ने कापीदेखि फोटोकपी, ट्वाइलेट र टिस्यु पेपरसम्ममा समेत नेपाल परनिर्भर अवस्थामा छ । तर, उक्त उद्योग संचालनमा आएसँगै पहिलो वर्षमै नेपालका लागि आवश्यकमध्ये करिव ३० प्रतिशत कागज नेपालमै उत्पादन हुनेछ । उद्योगले स्वदेशी कच्चापदार्थ र जनशक्ति परिचालन गरी स्वदेशमै उच्च गुणस्तरीय कागज उत्पादन गर्ने दाबी गरेको छ ।