भूमिसम्बन्धी बाहेकका ५ वटा अध्यादेश प्रतिनिधि सभाको बैठकमा आज अघि बढाउने

न्यूज समय

काठमाडौँ । सरकारले भूमिसम्बन्धी अध्यादेश बाहेक ५ वटा अध्यादेश प्रतिनिधि सभाको बैठकमा आज अघि बढाउने भएको छ । मंगलबार बसेको प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले अध्यादेश स्वीकृतिका लागि निर्णयार्थ पेस गर्ने कार्यसूची तय गरेको हो ।

सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व पहिलो संशोधन अध्यादेश, निजीकरण (पहिलो संशोधन) अध्यादेश र आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश २९ पुसमा जारी भएका थिए ।

यस्तै, गत १४ पुसमा सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश जारी भएको थियो । यसअघि गत माघ २४ गते कार्यसूचीमा चढेर पनि स्थगित भएको थियो । सरकारले नै अध्यादेश अगाडि नबढाउने भनेपछि सभामुख देवराज घिमिरेले त्यसदिन अध्यादेश अगाडि बढाउने सम्बन्धी कार्यसूची स्थगित गरेका थिए ।