यूकेका प्रधानमन्त्री स्टार्मरको युक्रेन युद्ध अन्त्य गर्न रुसी अतिक्रमणबाट जोगाउने भन्दै चारबुँदे योजना प्रस्ताव

न्यूज समय

काठमाडौं । यूकेका प्रधानमन्त्री सर किअर स्टार्मरले युक्रेन युद्ध अन्त्य गर्न र उक्त युद्धग्रस्त देशलाई रुसी अतिक्रमणबाट जोगाउने भन्दै चारबुँदे योजना प्रस्ताव गरेका छन् । उनले यूके, फ्रान्स र अन्य गठबन्धनमा बस्न इच्छुक देशहरु सहभागी हुने र युक्रेनको समर्थनमा अमेरिकालाई समेत सहभागी गराउन प्रयास गरिने बताएका छन्।

युरोपका १८ देशका नेताहरू सहभागी सम्मेलनपछि स्टार्मरले हामी आज इतिहासको दोबाटोमा छौँ भएको भन्दै उक्त प्रस्ताव गरेका हुन् । सो सम्मेलनमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की पनि सहभागी भएका थिए। जेलेन्स्कीले सम्मेलनपछि युक्रेनले बलियो साथ पाएको महसुस गरेको र लामो समयदेखि नदेखिएको उच्च स्तरको युरोपेली एकता देखिएको बताए। ह्वाइट हाउसमा युक्रेनी राष्ट्रपति र अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पबीच चर्काचर्की भएको दुई दिनपछि लन्डनमा यो सम्मेलन आयोजना भएको थियो। सम्मेलनपछि पत्रकार सम्मेलनमा यूकेका प्रधानमन्त्री स्टार्मरले चारबुँदे सहमति भएको बताएका छन्।

युक्रेनमा सैन्य सहायताको आपूर्ति जारी राख्ने र रुसमाथि आर्थिक दबाव कायमै राख्ने, दिगो शान्ति कायम गर्दा युक्रेनको सार्वभौमसत्ता तथा सुरक्षा सुनिश्चित गर्ने र युक्रेनलाई सबै शान्ति वार्तामा उपस्थित गराउने, शान्ति सम्झौता भएको अवस्थामा भविष्यमा युक्रेनमाथि हुनसक्ने कुनै पनि आक्रमणलाई रोक्न उसको रक्षा क्षमता बढाउने, युक्रेनबारे सम्झौताको पक्ष लिन र त्यसपछि शान्तिको सुनिश्चितता गर्न इच्छुकहरूको गठबन्धन विकास गर्ने रहेको छ । स्टार्मरले थप १.६ अर्ब पाउन्ड सहयोगको घोषणा पनि गरेका छन्। यूकेको निर्यातबाट आर्जित रकमबाट दिइने उक्त सहयोग युक्रेनले हवाई प्रतिरक्षा क्षेप्यास्त्र खरिदमा खर्च गर्ने छ।