काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पवित्र पाशुपत क्षेत्र नेपालमा रहनु समस्त हिन्दूका लागि गौरवको विषय भएको बताएका छन् । महाशिवारत्रि पर्व, २०८१ का अवसरमा सम्पूर्ण नेपालीलाई सुभकामना दिँदै राष्ट्रपति पौडेलले नेपाल भूमिसँग भगवान् शिवको सम्बन्ध विभिन्न वैदिक ग्रन्थमा वर्णन गरिएको र पवित्र पाशुपत क्षेत्र नेपालमा रहनु हाम्रा लागि मात्र नभई समस्त हिन्दूहरूको लागि पनि गौरवको विषय भएको बताए ।
उनले नेपाल धेरै धार्मिक सम्प्रदायभित्र विद्यमान सनातन संस्कृतिमा शिवसँग सम्बन्धित आस्था र विश्वास निरन्तर प्रतिविम्बित भएको उल्लेख गर्दै आराध्यदेव पशुपतिनाथ एवं किरातेश्वर महादेवलाई साक्षात् शिवस्वरूप मानेर आस्था राख्ने विश्वभरिका श्रद्धालुहरूका लागि नेपाल सदैव आध्यात्मिक चिन्तनको केन्द्र रहिआएको बताएका छन् ।
यसरी मानव जातिले प्रकृतिसँगको असल सहकार्यबाट मात्र आफ्नो प्रगतिको बाटो रोज्नुपर्छ भन्ने तथ्यलाई हाम्रा अनेक सांस्कृतिक चाडपर्वजस्तै महाशिवरात्रिले पनि बेजोड रूपमा प्रकट गरिरहेको उनको भनाइ छ । राष्ट्रपति पौडेलले महाशिवरात्री पर्वले हामी सबैको जीवनमा आध्यात्मिक जागरणको नयाँ उज्यालो छर्न सकोस् भनी शुभकामना व्यक्त गरेका छन् ।
न्यूज समय
१४ फाल्गुन, २०८१, बुधबार ००:००