सरकारले सात महिना बित्दा पनि जनताले चाहे जस्तो, कांग्रेसका कार्यकर्ताले सोचे जस्तो काम गर्न सकेन : डा शेखर कोइराला

न्यूज समय


नेपालगञ्ज । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले सरकारले सात महिना बित्दा पनि जनताले चाहेका कांग्रेसका कार्यकर्ताले सोचे अनुसारको काम गर्न नसकेको बताएका छन् । नेपाली कांग्रेस बाँकेले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै डा कोइरालाले सुशासनमा प्रगति नभएको र आर्थिक अवस्थामा देखिएको जर्जरतामा कुनै सुधार नभएको स्पष्ट पारे ।

कोइरालाले कांग्रेस एमालेको सरकार बन्दा संविधानमा सुधार गर्ने, आर्थिक अवस्थामा सुधार ल्याउने र सुशासनको प्रत्याभूती दिलाउने गरि भएको सात बुँदे सहमति अनुसारको काम हुन नसकेको गुनासो गरे । उनले भने–‘यो सरकार असफल हुन छुट छैन् । कांग्रेसका सवै नेता कार्यकर्ता सरकारलाई सफल बनाउन लाग्नुपर्छ । तर सरकारले सात महिना बित्दा पनि जनताले चाहेका कांग्रेसका कार्यकर्ताले सोचे अनुसारको काम गर्न सकेन् । संविधानमा सुधार गर्ने कुरा अगाडि बढेको छैन् । सुशासनको अवस्था उस्तै छ । आर्थिक अवस्थाको जर्जरता उस्तै छ ।’

डा कोइरालाले संविधानमा केहि सुधार गर्दा सवैको सहमति लिने बाटो तर्फ सरकारले ध्यान नदिएको बताए । उनले भने– ‘संविधानमा सुधार गर्न संयन्त्र बनेको छ । ५ जना कांग्रेसबाट ५ जना एमालेबाट रहने गरि संयन्त्र बनाएर संविधानमा सुधार गर्ने जमर्को गरिएको छ । तर संविधान भनेको सवै विचार र नागरिकको सहमतिको दस्तावेज हो । दुई तिहाई बहुमत भएपनि संविधानमा सुधार गर्दा सबैको सहमति लिन आवश्यक छ ।’

डा कोइरालाले कांग्रेसको १५ औं महाधिवेशन २०८४ को आम निर्वाचन पछि भए कांग्रेसको अस्तित्व समाप्त हुने भन्दै कांग्रेसको अस्तित्व जोगाउन गाँउ गाँउका कार्यकर्ता लाग्नुपर्ने बताए । उनले भने–‘१५ औं महाधिवेशन मंसिर २०८२ मा चार वर्ष पुग्छ । थप १ वर्ष लम्ब्याउन पाउने व्यवस्था छ । सभापति जीकोमा केहि साथीहरु गएर कांग्रेसको अधिवेशन ८४ पछि गर्ने भनेर सभापतिलाई सुझाउदैछन् । यसो भएमा कांग्रेसको अस्तित्व समाप्त हुन्छ ।’