स्वस्थ समाज निर्माणका लागि मानसिक र शारीरिक सन्तुलन अत्यावश्यक : मन्त्री थापा

न्यूज समय

पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री विन्दुकुमार थापाले स्वस्थ समाज निर्माणका लागि मानसिक र शारीरिक सन्तुलन अत्यावश्यक रहेको बताएका छन् ।

प्रदेश सरकारको सहकार्य र जिवन विज्ञान प्रतिष्ठानको आयोजनामा गण्डकी स्वजागरण उत्सवका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री थापाले हामीले योग र ध्यानलाई आफ्नो दिनचर्यामा समावेश गर्न पर्ने भन्दै हामीले यो अभियानलाई अझ व्यापक रूपमा विस्तार लैजानुपर्ने बताए ।

उनले अनुपम प्राकृतिक छटाहरुले भरिपूर्ण र विविध सांस्कृतिक विविधता तथा सभ्यताको पवित्र भूमिमा योग र ध्यानजस्ता प्राचीन विधाहरूलाई जीवनशैलीको अभिन्न अंग बनाउने र हामीहरुमा सकरात्मक उर्जा जागृत गराउन आवश्यक रहेको बताए ।

मन्त्री थापाले स्वजागरण उत्सव केवल शारीरिक अभ्यासको बारेमा मात्र नभएर, आत्म जागरण, मानसिक शान्ति र समग्र जीवनशैली सुधारको यात्रासँग जोडिएको पनि स्पष्ट पारे ।