सरकार कुलमानको अराजक गतिविधिलाई हेरेर बस्दैन, लगाम लगाउछ : उर्जामन्त्री खड्का

न्यूज समय


काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सञ्चालक समितिले गरेको निर्णय कार्यान्वयन नगरेर विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ आफूखुसी ढंगले अघि बढ्न खोजेको र सरकारलाई नटेरेको भन्दै उनका अराजक गतिविधिलाई सरकारले हेरेर नबस्ने र लगाम लगाउने उल्लेख गरेका छन् ।

मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै मन्त्री खड्काले राम्रो कामलाई पुरस्कार दिने भन्दै सरकारका एउटा कर्मचारीको पक्षमा एक भएर बोल्नुपर्ने कुनै कारण नरहेको जिकिर गरे । मन्त्री खड्काले पटक–पटक बोर्ड बैठक बोलाउँदा उपस्थित नभएपछि सदस्य परिवर्तन गर्नुपरेको स्पष्ट पारे । उनले कुलमानका कारण लोडसेडिङ हटेको भन्दै भ्रम फैलाइएको उल्लेख गर्दै तत्कालीन अवस्थामा ४२५ मेगावाट विद्युत् भारतबाट ल्याउँदा लोडसेडिङ हटेको स्पष्ट पारे ।

उनले बाढीका कारण १३ अर्बको क्षति भएको भन्दै तत्कालको अवस्थामा विद्युत् प्रवाहलाई सहज ढंगले सूचारु गरिएको दाबी गरे ।उनले दोधारा लम्की, बरेली, ढल्केबरलगायत आठवटा अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्ने गरी भारत सरकारसँग सम्झौता भई काम अघि बढेको बताए । ऊर्जा क्षेत्रमा आवश्यक कानुन तर्जुमाका क्रममा रहेको र केही विधेयक अघि बढिसकेको उनले जानकारी दिए ।