हामीले प्रविधि प्रयोगको ल्याकत बढाएर आफैले देशको विकास गर्नुपर्छ : प्रधामन्त्री ओली

न्यूज समय


दाङ । प्रधानमन्त्री केपी शर्मा ओलीले तीनै तहका सरकार मिलेर विकास निर्माणका कामलाई सहकार्यका साथ नेपाललाई नेपाली आफै बनाउनुपर्नेमा जोड दिएका छन् । लुम्बिनी प्रदेशसभाको बैठकमा आज विशेष सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कुनै पनि देश अर्काले आएर नबनाइदिने हुनाले हामीले बनाउनुुपर्ने बताएका हुन् ।

उनले भने–“चालीस वर्ष अगाडि छिमेकी चीन गरिब मुलुक थियो, अहिले आफ्नै मेहनातले सम्पन्न भइसकेको छ । हामीले पनि प्रविधि प्रयोगको ल्याकत बढाएर आफैले देशको विकास गर्नुपर्छ । कुन ठाउँमा के उत्पादन हुन्छ भन्ने पहिचान गरेर ठुलो परिणाममा खेती र उत्पादन गर्न सकेमा बजार पाइन्छ । त्यस कारण हामीले त्यस्ता उत्पादनमा लाग्नुपर्छ । उद्योगहरु स्थापनाका लगानी विस्तार गर्नुपर्छ । त्यसका लागि सरकारको तर्फबाट सहजीकरण गर्नुपर्छ ।’

उनले तीन वटै तहका सरकार यसमा सहकार्यका साथ अगाडि बढ्नुपर्ने भन्दै केन्द्र सरकारले लगानी विस्तार र सूचना प्रविधि क्षेत्रको विकासका लागि विभिन्न अध्यादेश ल्याएको बताए । उनले भने – ‘कोही कसैले अरु कारणले विरोध गर्नु बेग्लै कुरा हो । आमरुपमा अध्यादेशप्रति उद्योगी, व्यवसायी र सूचना प्रविधि क्षेत्रमा नयाँ उत्साह ल्याएको छ । यसले स्वागत पाएको छ ।’