काठमाडौँ । परराष्ट्रमन्त्री आरजु राणा देउवाले बिपी राजमार्गमा ठूलो क्षति पुगेकाले त्यसको पुनर्निर्माणका क्षेत्रमा आवश्यक सहयोगका लागि जापान सरकारसँग आग्रह गरेकी छन् । आठौं हिन्द महासागर सम्मेलनमा सहभागिताका लागि ओमनको राजधानी मस्कटमा रहेका परराष्ट्रमन्त्री राणा र जापानी राज्यमन्त्री ताकुमासँग सोमबार भएको शिष्टाचार भेटवार्तामा मन्त्री राणाले यस सम्बन्धमा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि नेपालका लागि जापानी राजदूतसँग गत अक्टोबरमा आग्रह गरेको स्मरण गराउँदै मन्त्री राणाले आजको भेटका क्रममा जापानी राज्यमन्त्रीलाई बिपी राजमार्गमा ठूलो क्षति पुगेकाले त्यसको पुनर्निर्माणका लागि आग्रह गरेकी हुन् ।
साथै मन्त्री राणाले जापान सरकारलाई नेपालको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल तथा पोखरा विमानस्थलमा जापानबाट प्रत्यक्ष उडानका लागि पनि आग्रह गरेकी थिइन्। मन्त्री राणाले हाल काठमाडौं नारिता प्रत्यक्ष उडान रहेकामा जापानबाट भैरहवा उडान गर्न सकिएमा लुम्बिनी जाने जापानी नागरिकलाई सहयोग पुग्ने र यसबाट नेपाल र जापानका बीचमा सांस्कृतिक पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने धारणा मन्त्री राणाले राखेकी थिइन्।
यस विषयमा अध्ययन गरेर अघि बढ्ने प्रतिक्रिया जापानी मन्त्री मियाजीले दिएका थिए। भेटका क्रममा नेपाल जापान सम्बन्धका विविध पक्षहरूका साथै दुई देशबीचको आपसी सम्बन्ध र साझा चासोका विषयमा कुराकानी भएको थियो। त्यस अवसरमा मन्त्री राणाले नेपालको एक प्रमुख दाता राष्ट्रका रूपमा जापानले लामो समयदेखि नेपालको आर्थिक सामाजिक विकासका क्षेत्रमा पुर्याउँदै आएको सहयोगप्रति मन्त्री ताकुमामार्फत् जापान सरकारलाई आभार व्यक्त गरेका थिए। भेटका क्रममा नेपाल र जापानले आगामी वर्ष सन् २०२६ मा दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७० औं वार्षिकोत्सव मनाउन लागेका विषयमा कुराकानी भएको थियो।
त्यस अवसरमा नेपाल र जापानका तर्फबाट उच्चस्तरीय भ्रमण आदानप्रदान गर्नुपर्ने विषयमा पनि कुराकानी भएको थियो। नेपाल र जापानले गत वर्षमात्र सीपयुक्त जनशक्तिका विषयमा आगामी पाँच वर्षसम्मका लागि सम्झौता गरेको र यससम्बन्धी कार्यविधि नेपाल सरकारले पास गरिसकेकाले जापान सरकारको आवश्यक सहयोगबारे कुराकानी भएको थियो।
न्यूज समय
५ फाल्गुन, २०८१, सोमबार ००:००