आर्थिक अभावमा कोही पनि बालबालिका क्यान्सरको उपचारबाट वञ्चित हुन पर्दैन : मन्त्री पौडेल

न्यूज समय

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले आर्थिक अभावमा कोही पनि बालबालिका क्यान्सरको उपचारबाट वञ्चित नहुने बताएका छन् । मन्त्रालयले मङ्सिर १ गतेबाट लागू हुनेगरी बाल क्यान्सरको निःशुल्क उपचार व्यवस्था गरेको स्मरण गर्दै उनले प्राप्त सहयोग बाल क्यान्सरका कारण हुने मृत्युदर नियन्त्रणमा महत्वपूर्ण हुने विश्वास व्यक्त गरेका छन् ।

नेपालले विश्व स्वास्थ्य सङ्गठन र सेन्ट जुड चिल्ड्रेन्स रिसर्च हस्पिटलको पहलमा स्थापित ग्लोबल प्लेटफर्म फर एक्सेस टु चाइल्ड हुड क्यान्सर मेडिसिन अन्तर्गत बालबालिकाको क्यान्सर उपचारमा प्रयोग हुने औषधीको पहिलो खेप प्राप्त गरेको हो । क्रमैसँग थप औषधी उपलब्ध हुने सङ्गठनले जानकारी दिएको छ ।

मन्त्री पौडेलले बाल क्यान्सरको निःशुल्क उपचारका लागि सघाउन नेपालले प्राप्त गरेको औषधिका लागि सहयोगी दाताहरूलाई धन्यवाद दिएका छन् । मन्त्री पौडेलले क्यान्सरको उपचारलाई विस्तार गर्दै सबै प्रदेशमा पुर्‍याउने काम भएको भन्दै यसमा क्रमैसँग सुधार ल्याउने योजना रहेको समेत उल्लेख गरे ।