गृहको परिपत्रको जस लिन रामहरी र प्रदीपको फेसबुकवाजी, सामान्य कामको सस्तो प्रचारमा उत्रिएको भन्दै नागरिकमा असंतुष्टी

न्यूज समय


काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्यद्धय रामहरी खतिवडा र प्रदीप सुनुवार १४ औं महाधिवेशनमा दुवै सभापति शेरबहादुर देउवाको गुटबाट केन्द्रीय सदस्य भएका हुन् । दुईमध्ये २०७९ को आम निर्वाचनमा रामहरी खतिवडा प्रतिनिधिसभा सदस्य र प्रदीप सुनुवार प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् । रामहरी अहिले राज्य व्यवस्था समितिका सभापति छन भने प्रदीप दुई पटक कोशी प्रदेशका मन्त्री भइसकेका छन् ।

तर अहिले एउटै गुटमा रहेका दुई केन्द्रीय सदस्यहरूको गृहमन्त्रालयले गरेको एक परिपत्रको जस कसले लिनका लागि फेसबुकवाजीमा उत्रिएका छन् । नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरी खतिवडा र प्रदीप सुनुवारका बीचमा सामाजिक सञ्जालमा जस लिनका लागि होडवाजी चलेको हो ।

गृहमन्त्रालयले गरेको एक परिपत्रका बारेमा दुवै नेताहरू आफूले गरेको जस लिनका लागि आ–आफ्ना निजी सचिव र आ–आफ्ना कार्यकर्तालाई प्रयोग गरेर जुहारी खेलिरहेका छन् । गृहमन्त्रालले फागुन २ गते शुक्रबार मन्त्रीस्तरिय निर्णय भन्दै लिखु गाँउपालिका वडा नम्बर ६ देखि ९ सम्मका नागरिकले जिल्ला प्रशासनबाट गर्ने काम इलाका प्रशासन कार्यालय खिजिफलाँटेबाट गर्ने गराउने भन्दै जिल्ला प्रशासन कार्यालय ओखलढुंगालाई परिपत्र ग¥यो । त्यही परिपत्र कसले गराएको भन्ने जस लिन दुई नेताको होडवाजी चलेको छ ।

गृहको उक्त परिपत्र सहित कोशी प्रदेशसभा सदस्य प्रदीप सुनुवारका कारण भन्दै प्रदीपका पिए भुवन दाहालले आफ्नो फेसबुक पेजमा लेखेका छन् भने रामहरीका पिए हुकुम वाम्बुले राईले पनि सोही परिपत्र पोष्ट गर्दै राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरीका कारण संभव भएको लेखेका छन् ।

गृहमन्त्रालयले गरेको एक परिपत्रका बारेमा दुवै नेताहरू आफूले गरेको जस लिनका लागि आफू र आ–आफ्ना निजी सचिव तथा आफू निकटका कार्यकर्तालाई प्रयोग गरेर जुहारी खेलिरहेका छन् । तर कांग्रेसका पूराना नेता कार्यकर्ता भने दुई केन्द्रीय सदस्यको अनावश्यक होडवाजीले पार्टी संगठनलाई घाटा भइरहेको भन्दै गुनासो गर्न लागेका छन् । कांग्रेसका एक पूराना नेताले भने–‘ओखलढुंगाका जनताले दुवै जनालाई जनताको काम गर्न पठाएको हुन् । जनताको काम गरेको विषयमा सार्वजानिक रुपमा नै जस लिन होडवाजी गर्दा उहाँहरूलाई नि घाटा भइरहेको छ । ’

ओखलढुंगाका नागरिकले दुवै जना सांसदहरूले जनताले भोगेका कष्टको समाधान गर्न भन्दा सामान्य गर्नै पर्ने काम हुँदा सस्तो प्रचारमा उत्रिएका भन्दै असंतुष्टी जनाएका छन् । ओखलढुंगाका एक स्थानीय तहमा जनप्रतिनिधिले भने–‘पैरे खोलाको पुल नबन्दा बर्षातको समयमा यात्रा कठिन हुन्छ त्यसका लागि पहल छैन् । जिल्ला प्रशासनले गर्ने काम इलाका प्रशासनमा सार्दा कोकोहोला गर्ने ?’

रामहरी र प्रदीप दुवै एकै गुटमा भएपनि यीनीहरूले अनावश्यक कुरामा प्रतिष्पर्धामा उत्रदा कांग्रेसको संगठनलाई समेत घाटा भइरहेको छ । दुई मध्ये जिल्लाको पार्टी संगठनमा प्रदीपको पकड राम्रो छ भने आम मान्छेमा रामहरी लोकप्रिय छन् । यस्तै पार्टीको मर्यादामा रामहरी भन्दा प्रदीप अगाडि छन भने अहिले प्रतिनिधि सभा सदस्य भएका कारण सरकारी मर्यादामा प्रदीप भन्दा रामहरी अगाडि छन् । यीनै विषयले दुई नेताका बीचमा सधै होडवाजी चल्ने गरेको ओखलढुंगे कांग्रेसहरूले बताउने गरेका छन् ।