काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमालाई थप प्रभावकारी र निरन्तरता दिनका लागि बिमा कोष बलियो बनाउन आवश्यक भएको बताएका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आज पोखरामा आयोजित राष्ट्रिय जनसङ्ख्या नीति, मस्यौदा तथा जनसङ्ख्या व्यवस्थापन र ‘मिडवाइफरी’ बीचको अन्तरसम्बन्धबारे नीति निर्माण एवं सरोकारवालासँगको गण्डकी प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै मन्त्री पौडेलले चालु आर्थिक वर्ष २०८१/८२ का लागि मन्त्रालयले स्वास्थ्य बिमातर्फ सात अर्ब ५० करोड विनियोजन गरिएको जानकारी दिए ।
विनियोजित रकम अपुग भएकाले बिमा कोषलाई बलियो बनाउन आवश्यक रहेको उनको भनाइ थियो । उनले भने–‘शत प्रतिशत नागरिकलाई स्वास्थ्य बीमामा जोड्न जरुरी छ ।’
बीमा रकम पारदर्शी बनाउन आग्रह गर्दै मन्त्री पौडेलले कसैले त्यस्तो अनियमिता गरेको पाइएमा कारबाहीको दायरामा ल्याइने बताए । ग्रामीण क्षेत्रमा सहजरुपमा स्वास्थ्य सेवाको पहुँच पुर्याउन योजना अगाडि बढाइएको उनले स्पष्ट पारे ।
न्यूज समय
२ फाल्गुन, २०८१, शुक्रबार ००:००