समाजसेवा र मानविय काम गर्नका लागि मान्छेको मनैबाट लगाव हुनुपर्छ : डा शशांक

न्यूज समय

काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा शशांक कोइरालाले समाजसेवा र मानविय काम गर्नका लागि मान्छेको मनैबाट लगाव हुनुपर्ने बताएका छन् ।

कागेश्वरी मनोहरामा रहेको असाहय गाईबाछा संरक्षण अभियानको अवलोकन गर्ने क्रममा पूर्वमहामन्त्री कोइरालाले यस्तो बताएका हुन । उनले समाजसेवा गर्नका लागि मान्छेको रंग र ढंग होइन मन बदलिनुपर्ने बताए ।

कोइरालाले राष्ट्रिय जनावर गाईको संरक्षण अभियान थालेर संस्थाले सरकारले गर्नुपर्ने काम गरेको भन्दै प्रशंसा गरे । उनले यो संस्थालाई व्यवस्थित बनाउनुपर्ने पनि बताए । राष्ट्रिय जनवारको संरक्षण जस्तो पवित्र कामलाई दिर्घकालिन रुपमा व्यवस्थित गर्नका लागि आफूबाट हुने सबैखाले सहयोग गर्न तयार रहेको बताए ।

त्यस्तै कार्यक्रममा पूर्वमन्त्री दिपक गिरीले राष्ट्रिय जनावरको संरक्षण जस्तो प्रशंसनीय कार्य गरेको भन्दै संस्थालाई सवैबाट सहयोग हुने बताए । यस्ता कार्यले समाजमा राष्ट्रिय जनावर संरक्षणमा सवैको चासो र सहयोगले निरन्तरता पाउने र राष्ट्रिय जनावरको संरक्षमा टेवा पुग्ने पनि बताए ।

कागेश्वरी मनोहरा नगरपालिका नगरप्रमुख उपेन्द्र कार्की राष्ट्रिय जनावरको संरक्षण अभियानलाई स्थानीय सरकारले सक्दो सहयोग गरिरहेको भन्दै यो कामको स्वमित्व केन्द्र सरकारले लिनुपर्ने बताए । उनले पशुपति क्षेत्र विकास कोषले आफ्नो छाडा गाईको संरक्षण गर्न दायित्वका साथ स्थापना भएको गौशालालाई व्यवस्थित गर्न नसकेको भन्दै यो केन्द्रको स्वामित्व लिनुपर्ने बताए ।

त्यस्तै कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्यय उर्मिला थपलिया, प्रदेशसभा सदस्य छिरिङ दोर्जे लामा, नेपाल विद्यार्थी संघका पूर्वमहामन्त्री दिपक भट्टराई, कांग्रेसका युवा नेता हरिबोल भण्डारीको उपस्थिती रहेको थियो ।

त्यस अवसरमा पूर्व महामन्त्री कोइरालाले सो केन्द्रको परिसरमा वीपी कोइरालाका नाममा रुद्राक्षको विरुवा रोपेका थिए भने त्यहाँ संरक्षण गरिएका गाईलाई पिठो खुवाएका थिए । कोइरालाले सो केन्द्रलाई ५० हजार बराबरको पिठो हस्तान्तरण गरेका थिए ।

एकसय रोपनी क्षेत्रफलमा फैलिएको संरक्षण केन्द्रमा २ सय ७१ वटा गाई तथा बाछाहरु रहेका छन् । सडकमा बेवारिसे छोडिएका गाईबाछालाई केन्द्रले विगत सात वर्षदेखि संरक्षण गर्दै आएको छ ।