स्वास्थ्य पौडेलले लिए शानदार मःमः मा आगलागी भएर घाइते भएकाहरूको स्वास्थ्य अवस्थाारे जानकारी

न्यूज समय


काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले कीर्तिपुर अस्पतालमा उपचार गराइरहेको कमलपोखरीस्थित शानदार मःमः आउटलेटमा आगलागी हुँदा जलेर घाइते भएका बिरामी अवस्थाबारे जानकारी लिएका छन् । मन्त्री पौडेलले अस्पतालका अधिकारीहरूसँग निःशुल्क उपचार सेवा आवश्यक पर्नेलाई मात्र सो सेवा दिनुपर्नेमा जोड दिए । मन्त्री पौडेलले जलनको समस्या बढिरहेको भन्दै उपचार प्रभावकारी र सबैको पहुँचमा पुर्याउनुका अलावा समस्या बढ्न नदिन चेतनाका लागि सरोकारवालाबीच सहकार्य गर्नेसमेत बताए ।

आर्थिक अभाव भोगेका नागरिकलाई निःशुल्क उपचारका लागि भन्दै अस्पतालमा उपचारका लागि कीर्तिपुर नगरपालिकामार्फत रू दुई करोड निकासा गरेको मन्त्रालयले जनाएको छ । यसबाहेक सरकारी वीर अस्पतालमा रहेको जलन वार्डमार्फत पनि आर्थिक समस्या भोगेका बिरामीको निःशुल्क उपचार भइरहेको छ ।

मन्त्री पौडेलको सचिवालयका अनुसार कीर्तिपुर अस्पतालमा १८ बेडको बेग्लै अस्पताल भवनका लागि चौधरी समूहबाट प्रतिबद्धता प्राप्त भएको छ । गत साता मन्त्री पौडेलसँग चौधरी ग्रुपका सञ्चालक एवं सांसद विनोद चौधरी तथा जलनपीडित सांसद चन्द्र भण्डारीसहितको टोलीले भेट गरेको थियो । करिब रू १८ करोड लागतमा समूहले प्रतिबद्धता जनाएको अस्पतालका लागि केही दिनमै समझदारी गरेर काम अघि बढाउने तयारी भइरहेको मन्त्री पौडेलको सचिवालयले जनाएको छ ।