चलचित्र विकास बोर्डद्धारा बनेपालमा इनडोर सुटिङ स्टुडियो निर्माणका लागि बोलपत्र आह्वान

न्यूज समय

काठमाडौँ । चलचित्र विकास बोर्डले काभ्रेको बनेपा नगरपालिकामा निर्माण हुन लागेको इनडोर सुटिङ स्टुडियोका लागि बोलपत्र आह्वान गरेको छ । चलचित्र विकास बोर्डले सार्वजनिक गरेको बोलपत्रमा इनडोर सुटिङ स्टुडियो निर्माणका लागि इच्छुक कम्पनीले आगामी ३० दिनभित्र ई–बिडिङमार्फत आवेदन दिन सक्नेछन् चलचित्र विकास बोर्डले स्टुडियो नेपालकै सबैभन्दा ठूलोआकारको इनडोर सुटिङ स्टुडियो हुने दाबी गरेको छ ।

निजी क्षेत्रसँग केही स्टुडियो भए पनि यसअघि चलचित्र क्षेत्रसँग आफ्नो स्टुडियो भने थिएन । यो परियोजनाले स्वदेशी चलचित्र उद्योगलाई अत्याधुनिक प्रविधिसहित सहज ढंगको सुटिङस्थल प्रदान गर्नेछ । बनेपाको ४२ रोपनी क्षेत्रफलमा निर्माण हुने उक्त स्टुडियो विगत केही वर्षदेखि योजनामा रहे पनि कार्यान्वयन चरणमा जान सकेको थिएन ।

स्टुडियोको शिलान्यास दुई महिनाभित्र नै गर्ने योजना रहेको बोर्डले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । स्टुडियो निर्माणपछि स्वदेशी चलचित्रका निर्माता तथा निर्देशकलाई आधुनिक सुटिङ प्रविधि र सुविधासहितको वातावरण उपलब्ध हुनेछ । स्टुडियो निर्माणपछि नेपाली चलचित्र उद्योगलाई गुणस्तरीय सुटिङ वातावरण प्रदान गर्ने विश्वास गरिएको छ ।