काठमाडौँ । पूर्वप्रधानमन्त्री शेख हसिनाको अवामी लिगको प्रस्तावित राष्ट्रव्यापी विरोध प्रदर्शन अघि बुधबारदेखि बंगलादेशमा फेरि हिंसा भड्किएको छ । बुधबार अबेर राति बंगलादेशका धेरै शहरहरूमा हिंसा भड्किएको हो । पूर्वप्रधानमन्त्री हसिनाका विरोधीहरूले राजधानी ढाकाको धनमन्डीमा रहेको उनका बुवा शेख मुजिबुर रहमानको घरमा आगजनी गरेका छन् ।
साथै उनीहरूले आगलागीबाट बचेको घरसमेत भत्काइदिएको र मुजिबुरको भित्तेचित्रलाई पनि बिगारेका छन् । यस्तै प्रदर्शनकारीहरूले खुलनामा शेख हसिनाका काका शेख सोहेल र शेख जेवेलको घरलाई दुईवटा बुलडोजरले भत्काइ दिएका छन् । सामाजिक सञ्जालमा ‘बुलडोजर जुलुस’ घोषणा गरेपछि हिंसा भएको हो ।
प्रदर्शनकारीले बुधबार राति र बिहीबार बिहान देशभर हसिनाको पार्टी अवामी लिगका नेताहरूको घरमा तोडफोड गरेका छन् । यस घटनाका भिडियो र तस्बिरहरू सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । भारतमा रहेकी हसिनाको अनलाइन कार्यक्रम हुनुभन्दा ठीक अगाडि बंगलादेशमा हिंसा सुरु भएको थियो ।
बंगलादेशी समाचारपत्र द डेली स्टारका अनुसार हसिनाको ‘बङ्गलादेशविरोधी गतिविधि’का कारण यो विरोध प्रदर्शन भएको हो । अपदस्थ प्रधानमन्त्री हसिनाका विरोधीहरूले उनले भारतमा बसेर बंगलादेशविरोधी गतिविधि गरिरहेको आरोप लगाउने गरेका छन् । गत वर्ष बंगलादेशमा विद्यार्थी आन्दोलनको हिंसात्मक प्रदर्शनपछि हसिनाले देश छोड्नपरेको थियो । उनी गत वर्षको अगस्ट ५ मा भारत गएकी थिइन् ।
न्यूज समय
२४ माघ, २०८१, बिहीबार ००:००