काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले रुपाताल संरक्षणसम्बन्धी कामलाई समयमा सम्पन्न गर्न सरोकार भएका निकायलाई निर्देशन दिएका छन्। सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कास्कीले रुपाताल संरक्षणका लागि गरिरहेको कामको आज निरीक्षण गर्दै उनले यथाशीघ्र सम्पन्न गर्न निर्देशन दिएका हुन्।
उनले ऐतिहासिक रुपातालको आफ्नै महत्व भएकाले जनशक्ति थप गरेर समयमा गुणस्तरीय काम गरी यसलाई सम्पन्न गर्नेतर्फ लाग्न निर्देशन दिए ।
रुपाताल संरक्षणका क्रममा बजेट अभाव हुन नदिन मन्त्रालयले आवश्यक समन्वय गर्ने उनले प्रतिबद्धता जनाए। तालमा हाल सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कास्कीले पाँच सय ९० मिटर माटो र ४५ मिटर कङ्क्रिटको बाँध लगाउने काम गरिरहेको छ।
एक सय २२ हेक्टर क्षेत्रफलमा फैलिएको ताल बाँधेपछि एक सय ८३ हेक्टरको हुनेछ। तालको वरपर पैदलमार्ग निर्माण गर्न एक हजार एक सय रोपनी जग्गा अधिग्रहण गर्नुपर्नेमा हालसम्म नौ सय रोपनी अधिग्रहण भइसकेको आयोजनाका प्रमुख विदुरमान श्रेष्ठले जानकारी दिए।
न्यूज समय
२३ माघ, २०८१, बुधबार ००:००